कामना सेवा विकास बैंक विवेकशील, गुणस्तरीय र परिणाममुखी बैंकिङको यात्रामा निरन्तर प्रगति गर्दै
- BFIS News
- 2025 Oct 11 07:31

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेड नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. ९९७/०६३/६४ अन्तर्गत दर्ता भई नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको बैंकिङ कारोबार गर्न इजाजत प्राप्त राष्ट्रिय स्तरको विकास बैंक हो। मिति २०६४ साल असोज २४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबारको अनुमति प्राप्त गरी साविक कामना विकास बैंकले २०६४ साल कार्तिक २७ गतेदेखि आफ्नो वित्तीय कारोबार सुरु गरेको थियो। सो मितिलाई नै बैंकले आफ्नो स्थापना दिवसका रूपमा मनाउँदै आएको छ।
पछिल्लो चरणमा, मिति २०७३ साल असार ६ गते कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय रहेको साविक कास्की फाइनान्स लिमिटेडसँग गाभ्ने–गाभिने प्रक्रिया सम्पन्न गरी बैंकले राष्ट्रिय स्तरको कार्यक्षेत्रको स्वीकृति प्राप्त गरेको थियो। त्यसपछि, मिति २०७४ साल साउन २० गते रुपन्देही जिल्लाको बुटवलस्थित केन्द्रीय कार्यालय र १० जिल्लाको कार्यक्षेत्र रहेको साविक सेवा विकास बैंकसँग मर्जर सम्पन्न गरी, कामना सेवा विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो।
मर्जरपछि बैंकले नियामक निकायहरूको स्वीकृति प्राप्त गरी काठमाडौँ–३०, ज्ञानेश्वरस्थित आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थापना गरी अत्याधुनिक सेवा र सुविधा प्रदान गर्दै आएको छ। हाल बैंकले देशका सबै प्रदेश समेट्ने गरी १२९ शाखा कार्यालय र एक एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा विस्तार गरेको छ।
वार्षिक प्रतिवेदन २०८१/८२ : चुनौतीपूर्ण अवस्थामाझ सन्तोषजनक उपलब्धि
बैंकका अध्यक्ष सुदिप आचार्यले वार्षिक साधारणसभामा प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार समीक्षा अवधिमा समग्र बैंकिङ प्रणालीमा तरलता उच्च रहे पनि कर्जाको मागमा अपेक्षित सुधार देखिएको छैन। कर्जा प्रवाह वित्तीय व्यवसायको मूल कार्य भएकाले यसको कमीले सम्पूर्ण वित्तीय क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको उनले उल्लेख गरे।
यद्यपि, बैंकले चुनौतीपूर्ण परिस्थितिमा पनि आफ्नो व्यवसाय सन्तोषजनक रूपमा विस्तार गर्न सफल भएको छ। नियामक निकायका निर्देशनअनुसार तयार पारिएको वार्षिक प्रतिवेदनमा बैंकका गतिविधि, उपलब्धि र वित्तीय सूचकहरू समावेश गरिएको छ।
रणनीति २०८४ : विवेकशील, गुणस्तरीय र परिणाममुखी बैंकिङ
बैंकले सञ्चालक समितिबाट पारित रणनीति २०८४ लाई आधार मानी विवेकशील, गुणस्तरीय र परिणाममुखी बैंकिङ अभ्यासमा ध्यान केन्द्रित गरेको छ।
(क) विवेकशीलता
शून्य सहनशीलताको सिद्धान्तमा आधारित सुशासन
तीन तहको जोखिम नियन्त्रण प्रणाली
दक्ष र व्यवसायिक व्यवस्थापन
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट “गोल्ड” अवार्ड द्वारा सम्मानित उत्कृष्ट वित्तीय विवरण
(ख) गुणस्तरीय सेवा
प्रविधि–मैत्री सेवामा निरन्तर विस्तार
समग्र बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा दर ४.६२ प्रतिशत हुँदा बैंकको दर ३.४९ प्रतिशतमा सीमित
कर्मचारी दक्षता अभिवृद्धिका लागि नियमित तालिम, सेमिनार र गोष्ठी
सन्तुलित निक्षेप संरचना र अनुपात कायम
(ग) परिणाममुखी उपलब्धि
शेयरधनीहरूलाई निरन्तर दोहोरो अंकमा लाभांश वितरण
कर्मचारी सेवा सुविधामा परिमार्जन
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रु. ४७,०८,२४४.८५ को योगदान
स्रोतमा करकट्टी र सरकारी राजस्व कोषमा रु. ६३७,१३४,७३२.०४ को योगदान
लाभांशको प्रस्ताव पारित
सञ्चालक समितिले आ.व. २०८१/८२ को संचित मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत (करसहित) नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णयलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको छ।
गत वर्षदेखि दोहोरो अंकमा लाभांश वितरण गर्दै आएको बैंकले आगामी दिनमा पनि दिगो प्रतिफल दरमा लाभांश वितरण गर्ने अध्यक्ष आचार्यले प्रतिबद्धता जनाएका छन्।
धन्यवाद ज्ञापन
अध्यक्ष आचार्यले बैंकको विकास र प्रगतिको यात्रामा साथ दिने सबै पक्षप्रति हार्दिक आभार व्यक्त गर्दै भने “पूर्व अध्यक्षज्यूहरू, सञ्चालकज्यूहरू, सेयरधनी, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज, प्रभु क्यापिटल, कर्जा सूचना केन्द्र, बैंक तथा वित्तीय संस्था परिसंघ, डेभलपमेण्ट बैंकर्स एसोसिएसन, सञ्चार क्षेत्रका प्रतिनिधिहरू र बैंकका सम्पूर्ण कर्मचारीहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।”
प्रतिक्रिया