NIMB Header 2
Nepal Life

सुरुवाती चरणमै पत्ता लागे बाल क्यान्सरका ८० प्रतिशतभन्दा बढी बिरामी निको हुन्छन्

IME LIFE
  • BFIS News
  • 2026 Feb 15 23:01
सुरुवाती चरणमै पत्ता लागे बाल क्यान्सरका ८० प्रतिशतभन्दा बढी बिरामी निको हुन्छन्
United Ajod

काठमाडौँ, फागुन ३ गते । बालबालिकामा लाग्ने क्यान्सर सुरुवाती चरणमै पत्ता लगाएर उचित उपचार गरेमा अधिकांश अवस्थामा निको पार्न सकिने चिकित्सकहरूले बताएका छन् ।

Nepal Life
NIMB

बाल क्यान्सर रोग विशेषज्ञ डा. सूचारिता तुलाधरका अनुसार समयमा नै रोग पहिचान गरी उपचार सुरु गरे ८० प्रतिशतभन्दा बढी बालबालिकामा देखिने क्यान्सर निको बनाउन सकिन्छ ।

उहाँ भन्नुहुन्छ, “बालबालिकामा देखिने क्यान्सरलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन, तर सुरुवाती चरणमा रोग पहिचान गरेर उचित उपचार गरेमा अधिकांश क्यान्सर निको हुन्छ ।”

उहाँका अनुसार बाल क्यान्सर नियन्त्रणको प्रभावकारी उपाय भनेको लक्षण देखिनेबित्तिकै रोग पहिचान गरी तुरुन्त उपचार सुरु गर्नु हो । आर्थिक अभाव, लामो समयसम्म उपचार आवश्यक पर्नु र रोगबारे चेतनाको कमीका कारण धेरै बालबालिका उपचारको दायरामा आउन नसक्ने उहाँको भनाइ छ ।

सरकारले सरकारी अस्पतालमार्फत सहुलियतदरमा बाल क्यान्सरको उपचार गर्ने व्यवस्था गरेको छ । उपचारपछि धेरै बालबालिका सामान्य जीवनमा फर्किएका उदाहरणहरू रहेको डा. तुलाधरले बताउनुभयो । क्यान्सर निको भएका बालबालिकाको बौद्धिक विकासमा कुनै असर नपर्ने उहाँको भनाइ छ ।

चिकित्सकका अनुसार बालबालिकामा रक्त क्यान्सर (ल्युकोमिया), मस्तिष्क क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा र विल्म्स ट्युमर बढी मात्रामा देखिने गर्छन् ।

लामो समयसम्म ज्वरो आउने, शरीरमा निलो डाम देखिने, हातखुट्टा कमजोर हुने, ढाड दुख्ने, ग्रन्थी सुन्निने, आँखाको नानी सेतो देखिने, बारम्बार बान्ता हुने, रगत कम हुँदै जाने, शरीर सेतो वा पहेँलो देखिने, गिजा सुन्निने, पेट फुल्ने, टाउको दुख्ने, तौल घट्दै जाने, नदुख्ने गाँठागुँठी देखिनु, अत्यधिक आलस्य हुनु तथा शरीरका विभिन्न भागबाट रगत बग्नुजस्ता लक्षण बाल क्यान्सरका प्रमुख संकेत हुन सक्छन् ।

नेपालमा बाल क्यान्सर प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ । International Agency for Research on Cancerका अनुसार नेपालमा वार्षिक करिब एक हजार पाँच सय बालबालिकामा क्यान्सर हुने अनुमान गरिएको छ ।

क्यान्सर उपचार गर्ने संस्थाहरूको तथ्याङ्कअनुसार अनुमानित १५ सयमध्ये वार्षिक आठदेखि नौ सयको हाराहारीमा नयाँ बाल क्यान्सरका बिरामी उपचारका लागि दर्ता हुने गरेका छन् ।

अनुमानित सङ्ख्यामा करिब पाँच सयभन्दा बढी बालबालिका उपचारको दायराभन्दा बाहिर रहेको बताइएको छ । क्यान्सर लागे उपचार हुँदैन भन्ने सोच गलत भएको चिकित्सकहरूको भनाइ छ । लक्षण देखिनासाथ बालबालिकालाई नजिकको क्यान्सर उपचार उपलब्ध हुने स्वास्थ्य संस्थामा लैजान उनीहरूले आग्रह गरेका छन् ।

डा. तुलाधर भन्नुहुन्छ, “आर्थिक अभावका कारण बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो चाहना हो । लक्षण देखिनासाथ तुरुन्त स्वास्थ्य संस्थामा लैजाने हो भने उपचारपछि निको हुन्छ ।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया