देशभर आज प्रजातन्त्र दिवस मनाइँदै
- BFIS News
- 2026 Feb 19 09:13
काठमाडौं। निरंकुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज (फागुन ७) देशभर विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासम्मको यात्राको आधार मानिने यस दिनलाई राष्ट्रिय रूपमा स्मरण गरिँदै आएको छ।
राणा शासनविरुद्धको जनआन्दोलनका क्रममा शहीद भएका दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको बलिदानको स्मरणमा यो दिवस मनाइन्छ। उनीहरूको योगदानपछि जनक्रान्तिमार्फत राणा शासनको अन्त्य भएको थियो।
प्रजातन्त्र स्थापनापछि मुलुकमा क्रमशः लोकतान्त्रिक अभ्यास सुदृढ हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित भएको छ। राज्यसत्ताको स्रोत जनता हुन् र सार्वभौमसत्ता जनतामै निहित रहन्छ भन्ने मान्यतालाई जनसंघर्ष र शहीदहरूको बलिदानले स्थापित गरेको ऐतिहासिक सन्दर्भमा यस दिनलाई महत्वपूर्ण मानिन्छ।
यस अवसरमा मुख्य समारोह काठमाडौँस्थित सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुँदैछ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिमा मन्त्रीहरू, काठमाडौँ उपत्यकाका नगरप्रमुखहरू, मुख्य सचिव, प्रधान सेनापति, सुरक्षा निकायका प्रमुख तथा अन्य उच्च पदाधिकारीहरू सदस्य रहेका छन्। गृह मन्त्रालयका सचिव सदस्य–सचिवका रूपमा रहेका छन्।
प्रजातन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गरेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया