संगीतकारदेखि बीमा अभियन्तासम्म: रण बहादुर तामाङको बहुआयामिक व्यक्तित्व, “वान डे वान पर्सन”को नीतिले सिओटीसम्मको सफलता
- BFIS News
- 2026 Mar 02 19:35
काठमाडौं। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–२ का रणबहादुर तामाङ अहिले राजधानीको बौद्धमा बसोबास गर्छन्। दुई दशकदेखि संगीत क्षेत्रमा सक्रिय उनी पछिल्लो तीन वर्षमा बीमा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सफल भएका छन्। संगीत र वित्तीय सेवाजस्तो फरक दुनियाँलाई समानान्तर रूपमा अघि बढाइरहेका तामाङ अहिले धेरै युवाका लागि प्रेरणाको पात्र बनेका छन्।
४० वर्षीय तामाङ २० वर्षको उमेरमा काठमाडौं छिरे। रत्नराज्य लक्ष्मी क्याम्पसबाट मेजर इङ्लिस र म्युजिकमा ब्याचलर गरेका उनी सानैदेखि गीत संगीतप्रति गहिरो लगाव राख्थे। दुई दशकदेखि साउन्ड इन्जिनियरका रूपमा काम गर्दै आएका तामाङ भन्छन्,“म म्युजिक फिल्डमा सुइँसुइँ लागेर गीत संगीतमा रमाउने मान्छे हुँ।” तर उनी संगीत क्षेत्रमा देखिएको आर्थिक अस्थिरताप्रति चिन्तित थिए। “नेपालमा धेरै म्युजिसियनहरू बुढेसकालमा वा बिरामी हुँदा चन्दा उठाउनुपर्ने अवस्था देख्छु। यही क्षेत्रमा मात्र लागिरहेँ भने मेरो अवस्था पनि उस्तै हुन सक्छ भन्ने लाग्यो,” उनले सुनाए।
यही सोचाइका बीच उनका साथी मनोज कुमार शाहले उनलाई बीमा क्षेत्रतर्फ डोर्याए। २०२४ असारमा कोड निकालेपछि उनको यात्रा सुरु भयो। उनी हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको मध्यबानेश्वर शाखाबाट बीमा व्यवसाय गर्दै आएका छन्।
असारमा सुरु गरेको यात्रामा उनले मात्र ६ महिनामै MDRT (Million Dollar Round Table) हासिल गरे। त्यसपछि अर्को वर्ष COT (Court of the Table) र यस वर्ष पनि लगभग COTको उपलब्धि नजिक पुगेका छन्। “मैले तीन वर्ष मात्र काम गरेको हुँ, तर यो क्षेत्रमा सेवा गर्दै कमाइ गर्न सकिने रहेछ भन्ने कुरा बुझेको छु,” उनी भन्छन्।
साढे दुई वर्षको अवधिमा उनले ४१६ जनालाई बीमामा आबद्ध गराइसकेका छन्। “बीमा क्षेत्रमा प्यासिभ इन्कमको राम्रो सम्भावना रहेछ। जागिर खानुभन्दा यो क्षेत्र डिप्लोम्याटिक र कर्पोरेट ढंगले अघि बढाउ न सकिने उनि बताउछन्।
तामाङ आफू मात्र सफल भएर बस्ने स्वभावका छैनन्। उनले आफ्नो गाउँ ओखलढुङ्गाका चेलीबेटी र दाजुभाइहरूलाई पनि यो क्षेत्रमा जोडिरहेका छन्। “कतिपय मानिस आफैं कमाएपछि अरूलाई वास्ता गर्दैनन्। तर मैले मेरै गाउँका धेरै जनालाई यो पेशामा ल्याइसकेको छु,” उनले गर्वका साथ भने।
साउन्ड इन्जिनियरिङ र बीमा व्यवसाय दुवै क्षेत्रमा सक्रिय तामाङ भन्छन्, “मेरो यात्रा त भर्खर सुरु भएको हो।” संगीतप्रतिको मोह र सामाजिक सुरक्षाप्रतिको जिम्मेवारीलाई सँगै बोकेर अघि बढिरहेका रणबहादुर तामाङले देखाएका छन् 'जोखिम व्यवस्थापन र सपनाको धुन सँगै बज्न सक्छ'।
धेरैका लागि बीमा बेच्नु भनेको कठिन काम हो। अस्वीकार, अविश्वास र अप्ठ्यारो संवादको डरले धेरै अभिकर्ता पछि हट्छन्। तर रण बहादुर तामाङका लागि बीमा बिक्रीको मूल मन्त्र फरक छ “बीमा होइन, ज्ञान बेच्नुस्।”
“सबैभन्दा ठूलो कुरा बीमाको ज्ञान नै हो,” तामाङ भन्छन्। “बीमा बेच्न थालियो भने मान्छे भाग्छन्। तर ज्ञान बेच्न थालियो भने पाइलैपिच्छे बीमा भेटिन्छ।” उनको अनुभवले देखाएको छ समस्या बजारमा होइन, मानसिकतामा छ।
_1772459618.jpeg)
‘बीमित खोज्दिनँ, वरिपरि नै छन्’
धेरै अभिकर्ता सीमित घेराभित्र मात्र काम गर्छन् 'आफ्ना आफन्त, इष्टमित्र वा चिनेजानेका मान्छे।' केही त सिजनल अभिकर्ताका रूपमा छोटो समय सक्रिय भएर हराउँछन्। तर तामाङ व्यावसायिक दृष्टिकोणमा विश्वास गर्छन्।
“हामीले व्यवसायिक रूपमा यो पेशा लिइसकेपछि ट्याक्सीमा चढ्दा ट्याक्सी ड्राइभरको पनि बीमा गर्न सक्नुपर्छ,” उनी भन्छन्। “तर करकाप गरेर होइन महत्त्व बुझाएर।”
उनका अनुसार बीमित खोज्न टाढा जानु पर्दैन। कपाल काट्नेदेखि छेउको किराना पसल, ग्यास डिपोका सञ्चालकसम्म अझै धेरै असुरक्षित छन्। “हामी प्रस्ताव राख्न डराउँछौं,” उनी स्वीकार्छन्। “डराइयो भने छेउमै भएको ग्राहक अर्कैले लगिसकेको हुन्छ।”
तामाङको शैली व्यवहारिक छ। उनी अवसरलाई संवादमा बदल्न जान्दछन्। “मैले पठाओ चढेर स्टेशन पुग्दासम्म ७–८ जना ड्राइभरलाई बीमाको महत्त्व बुझाइसकेको हुन्छु,” उनी हाँस्दै भन्छन्। “कति जनाले त ‘म फर्म भरेर जान्छु’ भनेर कम्पनीमै पुगेर फर्म भरिदिनुहुन्छ।”
उनको भनाइमा, सफलताको कडी ‘मुख खोल्ने हिम्मत’ हो। तर त्योभन्दा पहिला ‘आफू साक्षर’ हुनुपर्छ। बीमा के हो? प्रिमियम के हो? ओभर भ्यालुड र अन्डर भ्यालुड पोलिसी के हो? कुन उमेरमा कुन योजना उपयुक्त हुन्छ? यी आधारभूत ज्ञान बिना गरिएको बिक्रीले ‘मिस–सेलिङ’ जन्माउँछ र क्लेम नपाउने अवस्था सिर्जना गर्छ। “सही ज्ञान भएको अभिकर्ताबाट गरिएको बीमाले कहिल्यै धोका दिँदैन,” उनी दृढतापूर्वक भन्छन्।
तामाङका अनुसार नेपालमा बीमा बजार अझै ठूलो सम्भावनाले भरिएको छ। करिब ३० प्रतिशत जनसंख्याको मात्रै बीमा भएको अनुमान छ। त्यसमध्ये पनि पर्याप्त मूल्याङ्कन भएको बीमा झनै कम छ। “लगभग ७० प्रतिशत बजार खाली छ,” उनी भन्छन्। “त्यो कारणले मान्छे नपाउने कुरै हुँदैन।”
उनको रणनीति सरल छ 'एकजनाबाट परिवारसम्म।' कुनै ग्राहकको बीमा भएपछि उनी परिवारको सम्पुर्ण विवरण भर्छन्। “तपाईंको भयो, अब श्रीमतीको गरौं। छोराछोरीको गरौं। आमाको उमेर कट्न लाग्यो अहिल्यै गरौं,” उनी सुझाउँछन्। यहीँबाट अर्को अवसर खुल्छ।
तामाङको विचारमा बीमा उद्योगको मुख्य चुनौती बजारको अभाव होइन, ज्ञानको अभाव हो। धेरै अभिकर्ता नाम मात्रका हुन्छन् आफू नबुझी अरूलाई बेच्न खोज्छन्। त्यहीँबाट अविश्वास बढ्छ। “पहिला आफू साक्षर हुनुपर्छ,” उनी दोहोर्याउँछन्। “आफूलाई थाहा छैन भने अरूलाई कसरी बुझाउने?”
उनका लागि बीमा केवल कमिसनको माध्यम होइन, आर्थिक सुरक्षाको अभियान हो। “कसैलाई केही भयो भने परिवारलाई आर्थिक हानी हुन्छ कि हुँदैन? त्यो कभर छ कि छैन?” उनी हरेक संवादमा यही प्रश्न उठाउँछन्।

“वान डे, वान पर्सन”
“मेरो नीति ‘वान डे वान पर्सन मिटिङ’ हो,” आत्मविश्वासका साथ भन्छन् तामाङ। उनको नीति सरल छ एक दिनमा एक जनासँग भेट गर्ने। त्यो व्यक्ति जसरी पनि भेटिन्छ। “नभेटिए चिया पसलमा गएर साथीहरूलाई चियाको पैसा तिरेर भए पनि बीमाको प्रस्ताव राख्छु,” उनी हाँस्दै सुनाउँछन्।
उनको दर्शन स्पष्ट छ “घामको काम उदाउनु हो। ताप्ने कि नताप्ने त्यो मान्छेको कुरा हो। हाम्रो काम बुझाउने हो।” यही विश्वासका साथ उनी ‘वान डे वान पोलिसी फलोअप’ को सिद्धान्तमा अघि बढिरहेका हुन्छन्।
रण बहादुरको हिसाबले, यदि दिनमा एक जनालाई बीमा सुनाइयो भने ३० दिनमा ३० जनासम्म पुग्छन्। “सबैले गर्छन् भन्ने हुँदैन। ३० मध्ये १०/२० जनाले गरे पनि धेरै राम्रो हुन्छ।” उनी भन्छन्।
उनको आफ्नै रेकर्ड भने एक महिनामा ४० जनासम्म बीमा गराउने रहेको छ। उनी भन्छन्, “धैर्य, ज्ञान, हँसिलो अनुहार र स्वस्थ शरीर लिएर बजारमा निस्कियो भने नेपालमा बीमाको बजार पुरै खाली छ।”
भ्रम चिर्ने अभियान
रण बहादुरको चिन्ता बीमाप्रतिको नकारात्मक धारणा हो। “हाम्रो समाजमा अझै ‘बीमाले पैसा खाएर भाग्छ’ भन्ने गरिब मानसिकता छ,” उनी भन्छन्। उनले जेनजी आन्दोलनका घटनाहरू स्मरण गर्दै उदाहरण दिन्छन् धेरै घर, गाडी र संरचना जले; तर बीमा भएकाहरूले दाबी पाएका छन्। “हिल्टन टावरले ६ अर्ब रुपैयाँ बीमाबाट पायो,” उनी भन्छन्, बीमाको शक्ति यहिबाट देखिन्छ।
उनको तर्क छ नेपाल धनी देश हो, तर मानसिकताले गरिब छ। “युरोप वा अफ्रिका जाँदा धेरैजसो मानिस बिमित भेटिन्छन्। तर नेपालमा घटना भइसकेपछि मात्र ‘बीमा गर्नुपर्ने रहेछ’ भन्ने पछुतो हुन्छ।”
रण बहादुर बीमालाई दैनन्दिन सुरक्षासँग तुलना गर्छन्। “मोटरसाइकलमा हेलमेट लगाएजस्तो हो, बर्खामा छाता बोकेजस्तो हो,” उनी भन्छन्। उनका अनुसार बीमा कुनै ठूलो लगानी होइन “जिन्दगीभरको कमाइ राख्नुपर्दैन। थोरै बचतले परिवारको आर्थिक सुरक्षा हुन्छ।” ठूला रोग लाग्दा चन्दा र भिख माग्नुपर्ने अवस्थाबाट जोगिन बीमा अनिवार्य रहेको उनको भनाइ छ।
_1772459722.jpeg)
संगीत र बीमाको संगम
रण बहादुर केवल बीमा अभियन्ता मात्र होइनन्, उनी संगीत क्षेत्रका सक्रिय सर्जक पनि हुन्। आफूलाई नेपालका शीर्ष दस संगीतकर्मीमध्ये एक दाबी गर्ने उनी संगीत प्रशिक्षक र साउन्ड इन्जिनियरका रूपमा परिचित छन्।
उनको कम्पनी Halesi Digital मार्फत उनी संगीत उत्पादनमा सक्रिय छन्। ‘आर.बि सिङदान’ नामबाट पनि चिनिने उनले युट्युबमा आफ्ना सिर्जना सार्वजनिक गर्दै आएका छन्।
तामाङ समुदायका भएकाले उनले विशेषगरी ताल्सालिङ क्षेत्रका सेलो गीतहरूमा काम गरेका छन्। त्यसबाहेक लोकदोहोरी, नेपाली सुगम संगीत, पप र र्यापसम्म उनको स्टुडियो व्यस्त छ।
“म पर्दा अगाडि होइन, पछाडि बसेर काम गर्ने मान्छे हुँ,” उनी भन्छन्। गायक गायिका चर्चित भए पनि प्राविधिक पक्ष सम्हाल्ने इन्जिनियरको भूमिका उत्तिकै महत्वपूर्ण हुने उनको विश्वास छ।
हाल उनी संगीतलाई फुल टाइम र बीमालाई पार्ट टाइम रूपमा अघि बढाइरहेका छन्। “पार्ट टाइममै यति गर्न सकेँ भने फुल टाइम गरे के हुन्छ होला?” उनी उत्साहित देखिन्छन्। तर उनको प्राथमिकता स्पष्ट छ बीमा सचेतना फैलाउने। “स्वस्थ हुँदै, उमेर हुँदै, कमाउन सक्ने हुँदै बीमामा खाता खोल्नुस्,” उनी सबै नेपालीलाई आग्रह गर्छन्।
रण बहादुर तामाङका लागि बीमा व्यवसाय मात्र होइन यो सामाजिक अभियान हो। एक दिन, एक जना। निरन्तर, धैर्यका साथ। शायद यही सानो सूत्रले ठूलो परिवर्तन ल्याउन सकेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया