ग्लोबल आइएमईको ९ महिनाको मुनाफा ४ अर्ब ४० करोड, निक्षेप र कर्जा विस्तारमा सकारात्मक वृद्धि
- BFIS News
- 2026 Apr 28 13:04
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अवधिमा ४ अर्ब ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकले गत वर्षको यहि अवधिमा ४ अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको थियो।
बैंकको आम्दानीमा खराब कर्जाको प्रावधानले प्रभाव पारेको छ। बैंकको प्रोभिजनिङ २५.८७ प्रतिशतले बढेर ३ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। साथै, खुद ब्याज आम्दानी पनि ३.५१ प्रतिशतले घटेर ११ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ, जसले समग्र नाफामा दबाब सिर्जना गरेको देखिन्छ।
यसका कारण बैंकको सञ्चालन नाफा ६.८२ प्रतिशतले घटेर ५ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ। वितरणयोग्य नाफा पनि घटेर ३ अर्ब रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ५४ करोड रुपैयाँको तुलनामा कम हो।
तर, निक्षेप र कर्जा विस्तारमा भने बैंकले सकारात्मक वृद्धि देखाएको छ। बैंकको कुल निक्षेप १३.६९ प्रतिशतले बढेर ६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा तथा अग्रिम ७.०५ प्रतिशतले बढेर ४ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ।
मुख्य वित्तीय सूचकांकतर्फ, बैंकको निष्क्रिय कर्जा (NPL) अनुपात ४.९७ प्रतिशत कायम रहेको छ। लागत अफ फन्ड ३.५८ प्रतिशतमा झरेको छ, जसले स्रोत व्यवस्थापनमा सुधार संकेत गर्दछ। तर, पूँजी पर्याप्तता अनुपात १२.०६ प्रतिशतमा सीमित हुँदै अघिल्लो वर्षको १२.३६ प्रतिशतभन्दा केही घटेको छ।
प्रतिशेयर आम्दानी (EPS) पनि घटेर १५ रुपैयाँ ४० पैसा कायम भएको छ, जुन अघिल्लो वर्ष १५ रुपैयाँ ८६ पैसा थियो। प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ५३ पैसा रहेको छ। समीक्षा अवधिको अन्त्यसम्म बैंकको सेयर मूल्य २३८ रुपैयाँमा कारोबार भएको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) १५.४६ गुणा रहेको छ।
समग्रमा, कर्जा प्रावधान वृद्धि र ब्याज आम्दानीमा आएको गिरावटका कारण बैंकको नाफामा दबाब परेको देखिए पनि निक्षेप तथा कर्जा विस्तारले दीर्घकालीन आधार भने बलियो रहेको संकेत गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया