NIMB Header 2
Nepal Life

बीमा क्षेत्रमा डिजिटलाइजेसन, सिइओ प्रविण रमण पराजुलीको लेख

NMB Bank
  • प्रविण रमण पराजुली
  • 2026 May 04 19:06
बीमा क्षेत्रमा डिजिटलाइजेसन, सिइओ प्रविण रमण पराजुलीको लेख
United Ajod

काठमाडौं। हामी डिजिटल युगमा छौं । आजका दिनमा सूचना प्रविधि नै सबै थोक हो । विना कागज आफ्ना सेवा सुविधालाई डिजिटल प्रणालीमा रुपमान्तरण हुने क्रम बढ्दो छ । यसको अर्थ कागजी दस्तावेजहरूलाई कम्युटराइज गर्नु, व्यवसायिक प्रक्रियाहरूलाई अनलाइन प्लेटफर्ममा स्थानान्तरण गर्नु, वा सेवाहरूलाई डिजिटल रूपमा उपलब्ध गराउनु हो ।

Shikhar
Nepal Life
NIMB

डिजिटलाइजेसनले व्यवसायिक प्रक्रियाहरूलाई छिटो, सुलभ, र प्रभावकारी बनाउँछ । काम गर्ने प्रक्रियालाई छिटो बनाउनुका साथै सूचना प्राप्ति, भण्डारण, र साझा गर्ने प्रक्रियालाई छरितो र प्रभावकारी बनाउँछ ।

कागज, प्रिन्टिङ र भण्डारणको आवश्यकता कम हुँदै जाँदा त्यस तर्फको खर्चमा कटौती हुँदै गएको छ । ढड्डा फाइलबाट तथ्याङ्क खोज्नु पर्ने अवस्थाबाट डिजिटल तथ्याङ्क प्राप्त गर्दै सम्पुर्ण सेवाहरुलाई अनलाइन मार्फत जुनसुकै स्थान र समयमा प्राप्त गर्न सकिन्छ । यसले जुनसुकै व्यवसायलाई विश्वभरबाट काम गर्न सक्षम बनाएको छ । डिजिटल प्रणालीबाट प्राप्त हुने तथ्याङ्कले व्यवस्थापनलाई अझ बुलन्द बनाउछ । डिजिटलाइजेसनले नयाँ व्यावसायिक मोडलहरू, स्टार्टअपहरू, र रोजगारका अवसरहरू सिर्जना गर्दछ । 

यि सबै कुराहरु सफ्टवेयर सँग जोडिएको हुन्छ । सफ्टवेयर भनेको संस्थाको मुटु हो । जसबाटै डिजिटल प्रणाली अपग्रेड हुन्छ । संस्थाका हरेक संरचना चलायमान हुन्छ । बीमा कम्पनीहरुले अझै पनि आफ्नो आवश्यकता अनुसारको सफ्टवेयर प्राप्त गर्न सकेका छैनन् । सफ्टवेयर निर्माण गर्ने भेण्डर र उपयोग गर्ने बीमा क्षेत्र विचमा ठुलो ग्याप छ । जसले गर्दा बीमा कम्पनीहरुले आफुलाई जुन तहमा डिजिटलाइज बनाइसक्नु पर्ने थियो त्यो तहमा रुपान्तरण गर्न सकेका छैनन् ।

क्षमता भएका बीमा कम्पनीहरुले केहि हदसम्म सफ्टवेयरका क्षेत्रमा लगानी गरेका छन् । अझै पनि केहि सफ्टवेयर प्रणाली वेव वेस एप्लिकेसनमा आधारित छन् । कुनै डेक्सटपमा आधारित छन् । आजको दिनमा बीमा कम्पनीहरु संस्थागत रुपमै धेरै ठुला भइसकेका छन् । जीवन बीमा कम्पनीहरुले न्युनतम पनि ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्छ । संस्थाहरु जति ठुलो हुँदै जान्छन् उनिहरुले दिने सेवा सुविधा पनि बढ्दै जान्छ ।

साथै समय सापेक्ष संस्थाहरुले आफ्ना ग्राहक, अभिकर्तादेखि लिएर आन्तरिक प्रणालीलाई नै पुर्ण रुपमा डिजिटलाइज बनाउदै सहज र छिटो छरितो रुपमा आफ्ना सेवा सुविधा उपलब्ध गराउनु पर्छ । यसका लागि सफ्टवेयर बन्नु मात्रै ठुलो कुरा होइन जसले सफ्टवेयर निर्माण गरेको छ वा उपलब्ध गराएको छ उसले कुन तहसम्मको लगानी गरि सफ्टवेयर निर्माण गर्यो भन्ने कुराले अर्थ राख्छ । 

सफ्टवेयर 'बग फ्रि' भाइसर फ्रि 'प्राविधिक रुपमा त्रुटी नभएको’ हुनु पर्यो । रिलायबल, डिपेण्डेबल हुनु पर्यो । यो एक पटकका लागि मात्रै खरिद गरिने चिज होइन । एक पटक खरिद गरिसके पछि निरिन्तर उपयोग भइरहनु पर्छ । समय सापेक्ष यसका फिचरहरु परिमार्जन गर्न सक्ने हुनु पर्यो । नियामकिय व्यवस्थामा आएका परिवर्तनलाई संबोधन गर्न सक्ने हुन पर्छ ।  संस्थाले समय समयमा ल्याएका परिवर्तनलाई पनि सँग सँगै समायोजन गर्न सक्नु पर्छ । 

सफ्टवेयरको अर्को महत्पुर्ण कुरा 'एएमसीः एनुअल मेन्टेनेन्स कस्ट’ सँग जोडिन्छ । धेरै फिचरहरु थप्नु परेमा भिन्नै चुनौती होला तर नियमित रुपमा गर्नु पर्ने मेन्टेन्सका कुराहरुमा नै समस्या छ । यो सबै सफ्टवेयर निर्माता तथा सप्लायर सँग जोडिने कुरा हो । जसले कुन हदसम्मको सेवा सुविधा उपलब्ध गराउछन् भन्ने कुरा पनि हो । 

यसैमा अन्य अत्यावस्यक सेवाहरु पनि जोडिन्छ जस्तै मोबाइल एप्लिकेसन, एप, वेवसाइट आदि । यस बाहेक अन्य सफ्टवेयर प्रणाली पनि हामीलाई चाहिन्छ । सफ्टवेयर र डोमेनमा ठुलो ग्याप देखिन्छ । हामीले सकेसम्म स्थानीय स्तरकै सफ्टवेयर निर्मातालाई प्राथमिकता दिन खोज्छौ । 

व्यक्तिगत रुपमा धेरै सक्षम व्यक्तिहरु नेपालमा हुनुहुन्छ तर संस्थागत भने हुन सक्नु भएको देखिदैन । एउटा समयमा निर्माता एक्लैले धेरै राम्रो सफ्टवेयर निर्माण गर्नेदेखि लिएर राम्रो सेवा पनि दिनुहुन्छ । तर सोको निरन्तरतामा समस्या देखिन्छ । सो किसिमका संस्था आफैमा संस्थागत हुन नसक्दा यस्तो समस्या आएको हो ।  

सफ्टवेयर निर्माताले कम्पनीको आवश्यकता अनुसार एकदमै राम्रो सफ्टवेयर पनि निर्माण गर्छन् । आजका दिनमा सूचना प्रविधि नै सबै थोक हो । यस्तो क्षेत्रमा काम गर्ने व्यक्तिहरुको माग नेपालमा मात्रै नभएर विश्वमै एकदमै धेरै छ । यसले गर्दा सफ्टवेयर निर्माताले आफ्ना दक्ष प्राविधिकहरुलाई टिकाउन सकिरहनु भएको छैन । यो पनि सबैभन्दा ठुलो चुनौती हो । 

अर्को पक्षबाट हेर्दा सफ्टवेयर समय समयमा विकास हुँदै जानु पर्ने कुरा हो । यसका लागि पुनर लगानी चाहिन्छ । यस भित्र खेलिरहनु पर्छ । निर्मातामा यो तहको क्षमता रहिरहदैन । हामी सुरुवातमा न्युनतम मूल्यमा सफ्टवेयर निर्माण गर्न खोज्छौ जसले गर्दा पुर्ण रुपमा तयार हुन सकिदैन । 

सफ्टवेयर धेरै फिचरबाट सिमित हुँदा थोरै सुविधा लिएरै काम सुरु गर्छौ । प्रारम्भिक चरणमा यो न्युनतम मूल्यमा आएको हुन्छ । त्यस पछिका वार्षिक सञ्चालन खर्च पनि त्यसैका आधारमा तय भएको हुन्छ । मानौ तपाईले एक करोडकै सफ्टवेयर लिनु भयो भने पनि यसको वार्षिक मेन्टेनेन्स खर्च १२÷१५ प्रतिशत लिदा पनि एउटा संस्थाले वार्षिक १५ लाख तिर्नु पर्ला । आजका दिनमा वार्षिक १५ लाख रुपैयाँमा कुन आइटी क्षेत्रका विज्ञबाट काम लिन सकिएला ? 

एउटा सफ्टवेयर निर्माण भए पछि हरेक वर्ष त्यसलाई रिभाइज गर्ने, अत्यावश्यक नयाँ फिचर थप्ने लगायएका कुराहरु गर्ने सूचना प्रविधिको विज्ञ त्यो तहको पैसामा काम गर्न मान्ला त ? त्यहि पैसामा काम गर्नु परे पछि त्यो भेण्डरले काम लगाउनै सक्दैन । अव १०/२० लाखको सफ्टवेयर छ भने त्यसले वार्षिक रुपमा कति शुल्क लिएर कतिहदसम्म सेवा दिन सक्ला ? यहिबाट समस्या सुरु हुन्छ । एउटा कुरा व्याकअप छैन । सोले गर्दा सर्भिसिङ चाहेजस्तो हुँदैन । तेस्रो पक्ष धेरै संस्थाहरु संस्थागत रुपमा सञ्चालन हुन सकेका छैनन् । आज एउटा संस्थामा काम गरिरहेको व्यक्तिले भोलि अर्को संस्था खोलिसकेको हुन्छ । जवकी सफ्टवेयर निर्माता सहि खालका व्यक्तिको विज्ञता सँग धेरै निर्भर हुन्छ ।

सफ्टवेयर भनेको संस्थाको मुटु हो । अव संस्थाको मुटु निर्माता नै एउटा टुक्रा एकातिर जाने अर्को टुक्रा अर्को तिर जाने वित्तीकै त्यो सफ्टवेयरको हालत के होला । यो भनेको मानिसको सोच विचारबाट उद्विकास भएको कुरा हो । जवसम्म यो संस्थागत हुदैन त्यसले निरन्तरता पाउदैन । यस पछि सफ्टवेर नै टुहुरो हुन्छ । जसले संस्था छाडेर जान्छ त्यस पछि त्यसको अपनत्व ग्रहण गर्ने व्यक्ति हुँदैन ।

यस पछि मुख्य व्यक्ति जसले सफ्टवेयर निर्माण गरेको थियो उसले अर्को तेस्रो पक्षलाई निश्चित मूल्यमा सोहि सफ्टवेयर बिक्री गर्छन्, अव कम्पनीको पक्षबाट हेर्ने हो भने त्यो सफ्टवेयरमा धेरै लगानी भइसकेको हुन्छ । आवश्यक सम्पुर्ण डाटा इन्ट्री भइसकेको हुन्छ । त्यस पछि त्यो सफ्टवेयरलाई तत्काल न त ग्रहण गर्न सकिन्छ न त फाल्न सकिन्छ । सफ्टवेयरको क्षेत्रमा सर्भिसिङ सँग सम्बन्धित कुराहरु धेरै नै महत्वपुर्ण हुन्छ । अझ कोर सफ्टवेयर तर्फ हेर्ने हो भने आज लिएर भोलि फ्याक्न सकिदैन । 

हाम्रोमा स्किल सेटको समस्या छैन । हाम्रो मूख्य समस्या भनेको संस्थागत  र क्षमता अभिबृद्धिको कुरा पनि हो । कुनै पनि क्षमतामा आएको प्रणालीले भोलिका दिनमा निरन्तता पाउन सक्नु पर्छ । हामीले अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर सँग प्रतिस्पर्धा गर्न सक्ने हुनु पर्छ । सहि मूल्य निर्धारण गर्न कुनै समस्या छैन । निरन्तर रुपमा सर्भिसिङ र निरन्तरताको प्रत्याभुति गर्ने कुरा नै सबैभन्दा महत्वपुर्ण छ । 

एउटा विजनेस मोडल एउटा तहसम्म चल्छ त्यस पछि मानिसको चाहना कम हुन्छ वा नयाँ प्रविधिले रिप्लेस गरिसकेको हुन्छ या नयाँ क्षेत्रमा व्यवसाय देखिन्छ । त्यस पछि सफ्टवेयर निर्माताहरु विचमा विभाजनको स्थिति सिर्जना हुन्छ । 

यस्तो अवस्थामा तपाईले जति सुकै राम्रो सफ्टवेयर ल्याउनुहोस् त्यसले भोलिका दिनमा राम्रो काम गर्नै सक्दैन । सफ्टवेयर यस्तो चिज हो जहाँ कम्पनीहरुको हरेक कुराहरु जोडिएको हुन्छ ।

अव यो मुटु कति बलियो छ । यसलाई कसरी स्वस्थ राख्ने भन्ने कुरा कम्पनीहरुले मात्रै गरेर हुँदैन । कम्पनी सधै तेस्रो पक्ष सँग परनिर्भर रहन्छ । तेस्रो पक्षको कन्फर्ट कुन तहमा छ, स्ट्रेन्थ कुन तहमा छ, भेण्डरहरु कुन तहमा छन्  यसका लागि किन अन्तर्राष्ट्रिय सफ्टवेयर निर्माता नल्याउने भनिएला  । अव अन्तर्राष्ट्रिय सफ्टवेयर भित्र्याउन हाम्रो व्यवसायको आकारले धान्न सक्छ कि सक्दैन भन्ने कुरा आउछ । 

यदि एउटा मात्रै बीमा कम्पनीले अन्तर्राष्ट्रिय सफ्टवेयर ल्याएमा त्यसको खर्चलाई धान्न सक्दैन । साथै खर्च कम गर्न धेरै वटाले मिलेर ल्याएमा संस्थागत गोपनियता तथा तथ्याङ्कको विषय आउछ । 

अर्को तर्फ अन्तर्राष्ट्रिय सफ्टवेयर ग्रहण गर्दै गर्दा उनिहरुको कुराहरु हाम्रोमा ठ्याक्कै मिल्दैन । त्यसैले हाम्रा आवश्यकता र चाहना अनुसारको निर्माण हुनु पर्यो । यसमा पनि उनिहरुको सर्भिसिङले निरन्तरता पाउन सक्छ कि सक्दैन भन्ने कुरा छदै छ । सफ्टवेयर भनेको यस्तो चिज हो जसले प्रतिस्पर्धी बनाउछ । यस हिसावले पनि सबै संस्थाले एउटै सफ्टवेयर ल्याउ भन्ने पनि नहोला । यसमा प्रतिस्पर्धी क्षेत्रका आयामहरु रह्यो कि रहेन भनेर पनि हेर्नु पर्छ । 

प्ल्याटफर्म आफैमा स्ट्रेन्थ छ कि छैन । पछिल्लो ६/७ वर्षको बजारमा हामी जसरी विकसित भयौ, हाम्रो जुन किसिमले व्यवसाय बृद्धि भइरहेको छ त्यो ठाउँमा कति मजबुद भइरहेको छ कि छैन भनेर प्रश्न गर्यौ भने छैन भन्ने अवस्था छ । 

हामीले प्रविधिलाई आफुले सोचे अनुरुप प्रयोग गरिरहेका पनि छौ । एआइ, मसिन लर्निङ, व्लक चेन जस्ता सबै सूचना प्रविधिका नयाँ नयाँ कुराहरुलाई प्रणालीमा जोडिरहेका छन् । अण्डराइटिङ, क्लेम, ग्राहकको गुनासो व्यवस्थापन गर्न सेवालाई सुधार गर्ने लगायतका सबै कुराहरुलाई स्वचालित प्रणालीमा लैजाने कुरा एकदमै सामान्य विषय हो । 

मोबाइल एपलाई लिएर हामी डिजिटल ट्रान्फरमेसन भयो भनिरहेका छौ । यो भनेको हाम्रा ग्राहकहरुलाई कसरी राम्रो सेवा सुविधा दिने तथा सरलीकरण गर्ने भन्ने हो । जोखिमलाई कसरी न्युनिकरण गर्ने पाटो त छदै छ । सफ्टवेयर सँग सम्बन्धित जोखिमलाई कसरी न्युनिकरण गर्ने भन्ने आफैमा एउटा पाटो छ । यसमा धेरै अवसर छ । आज सफ्टवेरमा काम गर्छु भनेर कुनै एउटा नयाँ मानिस आएर मात्रै हुँदैन । व्यवसायका मोडलहरु पनि सिक्नु पर्छ । 

त्यसैले सफ्टवेर निर्माणका लागि प्रणाली जाने बुझेको व्यक्ति पनि हुनु पर्छ र बीमालाई पनि बुझेको हुनु पर्छ जसले गर्दा यि दुबै क्षेत्रलाई बुझेका व्यक्तिहरुको सहकार्यले मात्रै हामीले राम्रो सफ्टवेयर प्राप्त गर्न सक्छौ । यो सेक्टरका लागि एउटा ठुलो अवसर पनि हो । 

इमर्जिङ ग्र्यापको कुरा आउछ । सूचनाको गोपनियताको कुरा आउछ । यसमा ठुलो ग्याप छ । यसका लागि हामीलाई सबै कुराको समन्वय भएर एउटा संस्थागत भेण्डरको खाचो छ । आजका दिनमा हामी सबै डिजिटलाइज छौ भनेर प्रश्न सोध्यो भने हामी ठुलो खाडल देख्छौ । 

हिजोका दिनको तुलनामा हामी प्रविधिमैत्री त भइरहेका छौ । धेरै प्रविधिहरुलाई स्वीकार पनि गरिरहेका छौ । जाने बुझेसम्म अटोमेसनका काम पनि गरिरहेका छौ । एआइलाई पनि इन्ट्रिगेट गरिरहेका छौ तर पनि कुरा के हो भने त्यो त्यहाको स्तरमा छैन जति हुनु पर्थ्यो । 

यो सबै ग्याप केमा आउछ भन्दा हाम्रो जुनखालको संस्थागत अनुभव छ त्यो अनुभवलाई अन्तर सम्बन्ध कायम गर्न सकेका छैनौ । सेल्स, एजेन्सी, फाइनान्स, ग्राहकको सेवा लगायतका कुराहरुले इन्ट्रिगेटेड प्ल्याटफर्म खोजिरहेको छ । यसलाई एकिकृत गर्दा यसका प्रभावहरु पनि सबै तिर छरिए , जुन किसिको फाइदा लिनु पर्ने थियो त्यति फाइदा लिन पाइरहेका छैनौ । 

सफ्टवेयर आफै दौडिने होइन । यसलाई दौडाउनका लागि डेटाहरु चाहिन्छ । त्यसमा कुन गुणस्तरको तथ्याङ्क छ, त्यसलाई हामीले कसरी इन्ट्रिगेसन गरिरहेका छौ, भोलिका दिनमा त्यसलाई कुन भाषामा बुझ्न सकिन्छ आदि कुराहरुको लागि एकिकृत सफ्टवेयर प्रणालीको विकास गरि अगाडी बढ्नु पर्छ । 

हिजोका दिनमा आजका सफ्टवेयर भयंङ्कर चलेका थिए । तर अहिले यसैमा आधारभुत सेवाहरु पाइदैन । एउटा समयमा सबै राम्रा हुन्छन् कुनै समय पछि त्यसमा धेरै कुराहरु छरिसकेको हुन्छ । तर संस्था त्यस प्रणाली भित्र पसिसकेको हुन्छ । 

पसिसके पछि बाहिरिन सजिलो छैन । त्यसलाई समय सापेक्ष परिपवर्तन गर्न पनि गाह्रो छ । तथ्याङ्क स्थानान्तर ’डेटा माइग्रेसन’ गर्न पनि धेरै गाह्रो पर्छ । यसका चुनौतीहरु धेरै छन् । अहिले पनि बजारमा सूचना प्रविधिको क्षेत्रमा धेरै राम्रो राम्रो भेण्डरहरु हुनुहुन्छ । उहाँहरुले अन्तर्राष्ट्रिय सेवा सुविधा दिइरहनु भएको छ । 

नयाँ आएका प्रविधिलाई आफ्नो प्ल्याटफर्ममा भित्र्याउन सकिरहेका छौ छैनौ भन्ने सबै कुराहरु भेण्डरमै गएर जोडिन्छ । उहाँहरुले हाम्रा अपेक्षाहरु बुझ्ने अवस्था आउनु पर्यो । हाम्रो स्ट्रेन्थ के हो र चुनौती के के छन् भन्ने कुरालाई भेण्डरका लागि ठुलो अवसर छ । उहाँहरु आफ्नो भाषा बोलिरहनु भएको छ र हामी हाम्रो भाषा बोलिरहेका छौ तर दुबैको भाषमा मेल खान गाह्रो भइराखेको देखिन्छ । यो अवसरहरु देशभित्रैका पक्षहरुले प्राप्त गर्नु पर्छ । 

हामीले यसमा लगानी गर्न तयार हुनु पर्छ । भेण्डरले एक तहको सुरक्षण गर्न सक्नु पर्यो र त्यसका लागि हामीले पनि भुक्तानी गर्न तयार हुनु पर्यो । सफ्टवेयरलाई खर्च हो भनेर भन्दा पनि लगानी हो भनेर हेर्न सक्नु पर्यो । सबै स्टेक होल्डरका लागि यो अत्यावश्यक हुनु पर्यो । अहिले सफ्टवेयर सबै कुराहरुमा इन्ट्रिगेसन हुने हो भने प्रोडक्ट डिजाइनमै ठुलो मद्दत पुग्छ । 

हामीलाई इन्ट्रिगेट र कनेटिङ डटहरु छरिएर रहेको जस्तो अनुभव हुन्छ । माग र आपुर्ती विचमा कसरी कनेक्ट हुने भन्ने कुरा आइटी प्ल्याट फर्महरुले आफ्नो व्यवसायको अवसर कता छ त भन्ने तर्फ विश्लेषण गर्दै त्यहि क्षेत्रका विज्ञता हासिल गरेका व्यक्तिहरुको विज्ञता सदुपयोग गर्न सक्नु पर्छ । 

बजारमा एक तहको काम गरिरहेका सफ्टवेयरहरु छन् तिनिहरुले बीमामा अलिकति मात्रै केन्द्रित गर्ने हो भने यस क्षेत्रमा अथाह सम्भावना छ । सेक्टर फोकस भएर अहिलेको ग्याप परिपुर्ती गर्न सक्ने अवसर पनि छ । 

आजका दिनमा जीवन, निर्जीवन र लघु बीमा गरेर ४० वटा भन्दा धेरै संस्थाहरु हामी माझ छन् । त्यो लेभलको सफ्टवेयर किन बन्दैन भन्ने ठुलो प्रश्न हामी माझ छ । कतिपय संस्थाले इनहाउस यसमा काम पनि गरिरहेका छन् । टिम बनाएरै संस्थागत रुपमा लगानी भएका छन् । जसले अझै पनि डेक्टप तथा वेव भर्सनमा काम गरिरहनु भएको छ त्यहाँ भेण्डरका लागि ठुलो अवसर पनि हो । अहिलेको अस्थिरतलाई समाधान गर्न भेण्डरहरु संस्थागत भएर आउनु पर्छ । अझ स्थापित व्यवसायीहरुले नै यसमा लगानी गर्दा त्यसले दिगोपना दिने सम्भावना रहन्छ र क्षेत्रको आवश्यकता समेत परिपुर्ती हुन सक्छ ।

(प्रविण रमण पराजुली जीवन बीमक संघका अध्यक्ष तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन्।) 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया