NIMB Header 2
Nepal Life

याम्बालिङ हाइड्रोपावरको आईपीओमा २९ लाख ८९ हजारको आवेदन, १५ गुणा बढी माग

NMB Bank
  • BFIS News
  • 2026 May 05 18:24
याम्बालिङ हाइड्रोपावरको आईपीओमा २९ लाख ८९ हजारको आवेदन, १५ गुणा बढी माग
United Ajod

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएको छ। पछिल्लो तथ्यांकअनुसार कम्पनीको आईपीओमा मागभन्दा करिब १५ गुणा बढी आवेदन परेको छ।

Shikhar
Nepal Life
NIMB

निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओमा २९ लाख ८९ हजार ८ सय ६९ जना आवेदकले सहभागिता जनाएका छन्। ती आवेदकहरूबाट कुल ३ करोड २६ लाख ५२ हजार २ सय ८० कित्ता शेयरका लागि आवेदन परेको छ, जुन ३ अर्ब २६ करोड ५२ लाख २८ हजार रुपैयाँ बराबरको हो।

कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता शेयर निष्कासन गरेको थियो। यस आधारमा हेर्दा माग गरिएको भन्दा १५.५४ गुणा बढी आवेदन परेको देखिन्छ। बैशाख १६ गतेदेखि खुला गरिएको आईपीओ आज बैशाख २२ गते कार्यालय समयपछि बन्द भएको छ। उच्च आवेदनका कारण उक्त शेयर गोलाप्रथाबाट न्यूनतम १० कित्ताका दरले बाँडफाँट हुने निश्चित भएको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको थियो। सोही प्रक्रियापछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिएको हो।

कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँ मूल्यको २८ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दा र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट भइसकेको छ। साथै, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता शेयरसमेत वितरण गरिसकिएको छ।

हाल कम्पनीले दोस्रो चरणमा १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

आईपीओ निष्कासनअघि गरिएको मूल्यांकनमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रति मेगावाट लागत २५ करोड ७३ लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ६ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि १०.७६ वर्ष र छुट दरमा गणना गरिएको लगानी फिर्ता अवधि १९.८७ वर्ष रहेको कम्पनीले जनाएको छ।

लगानीकर्ताहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिएका थिए। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिने व्यवस्था गरिएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया