NIMB Header 2
Nepal Life

सत्ती भन्सारले बरामद मालसामान लिलाम बिक्री गर्ने

IME LIFE
  • BFIS News
  • 2026 May 21 11:39
सत्ती भन्सारले बरामद मालसामान लिलाम बिक्री गर्ने
United Ajod

काठमाडौं । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले चोरी पैठारीको अभियोगमा बरामद गरिएका विभिन्न मालसामान खुला बोलकबोलमार्फत बिक्री गर्ने भएको छ।

Nepal Life
NIMB

भन्सार विभागले जारी गरेको सूचनाअनुसार आगामी जेठ २१ गते कार्यालय परिसरमा लिलाम प्रक्रिया सञ्चालन गरिनेछ।

विभागका अनुसार दिउँसो १ बजेदेखि साढे २ बजेसम्म हुने लिलाम भन्सार ऐन, २०८२ तथा भन्सार नियमावली, २०८३ बमोजिम सञ्चालन हुनेछ। बरामद गरिएका सामानहरू हालको अवस्थामै प्रतिस्पर्धात्मक बोलकबोलमार्फत बिक्री गरिने जनाइएको छ।

लिलाममा समावेश मालसामान १० वटा फरक मुद्दासँग सम्बन्धित रहेका छन्। ती सामानहरूको प्रारम्भिक न्यूनतम मूल्याङ्कन ३ लाख ७० हजार ४८० रुपैयाँ निर्धारण गरिएको छ।

लिलामीमा कस्मेटिक सामग्री, पाउडर, गुलाबजल, लिपिस्टिक, विभिन्न क्रिम, ताल्चा तथा पंखाका बेसलगायतका वस्तु समावेश छन्। यस्तै, मोबाइलका फोल्डर, डिस्प्ले, ब्याक प्यानल, पानी तान्ने मोटर, बोरिङ पाइप तथा पुराना ब्याट्रीहरू पनि बिक्रीमा राखिने भएका छन्।

यसका अतिरिक्त लेडिज सुट, धोती, चप्पल, स्टील तथा प्लास्टिकका भाँडाकुँडा, साइकल र अटोका ट्युबसमेत लिलाम सूचीमा रहेका छन्।

भन्सार कार्यालयले बोलकबोलमा सहभागी हुने व्यक्तिका लागि केही सर्त पनि तोकेको छ। सामान सकार गर्नेले कबोल रकमको १० प्रतिशत तत्काल नगद दाखिला गर्नुपर्नेछ। मूल्य अभिवृद्धि कर लाग्ने व्यापारिक मालसामानका लागि भने भ्याटमा दर्ता भएका व्यावसायिक फर्मले मात्र भाग लिन पाउने व्यवस्था गरिएको छ।

सबैभन्दा बढी रकम प्रस्ताव गर्ने व्यक्तिको बोलकबोल स्वीकृत गरिने र स्वीकृत व्यक्तिले सात दिनभित्र कबोल रकम, भ्याट तथा अन्य कर बुझाएर मालसामान उठाउनुपर्नेछ।

गुणस्तर परीक्षण आवश्यक पर्ने सामग्रीका हकमा सम्बन्धित निकायबाट परीक्षण गराई उपभोगयोग्य प्रमाणित भएपछि मात्र प्रयोग वा बिक्री गर्न पाइने सूचनामा उल्लेख छ। इजाजतपत्र आवश्यक पर्ने वस्तु भने सम्बन्धित अनुमति प्राप्त फर्मलाई मात्रै बिक्री गरिने जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया