NIMB Header 2
Nepal Life

भारतीय बजारमा निर्यात रोकिएपछि इलामका ५६ चिया उद्योग बन्द

IME LIFE
  • BFIS News
  • 2026 Jun 16 13:27
भारतीय बजारमा निर्यात रोकिएपछि इलामका ५६ चिया उद्योग बन्द
United Ajod

काठमाडौँ । भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोध, गुणस्तर परीक्षणका नाममा भइरहेको ढिलाइ र बिक्री अनिश्चित भएपछि इलामका ५६ वटा चिया उद्योग सोमबारदेखि पूर्ण रूपमा बन्द भएका छन् ।

 

Nepal Life
NIMB

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार निर्यात अवरुद्ध भएपछि उत्पादित चिया गोदाममै थन्किन थालेको र ठूलो परिमाणमा चिया कुहिने जोखिम बढेपछि उद्योग बन्द गर्ने निर्णय गरिएको हो । उनका अनुसार बुधबारदेखि झापाका ३० वटा चिया उद्योग पनि बन्द गर्ने तयारी गरिएको छ ।

उद्योगी, किसान र मजदुरहरूले भारतले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अन्तर्गत अनिवार्य प्रयोगशाला परीक्षणका कारण नेपाली चियाको निर्यात प्रक्रिया थप जटिल बनेको बताएका छन् । परीक्षण प्रक्रिया पारदर्शी नभएको र समयमै नतिजा नआउँदा नेपाली चिया भारतीय बजारमा प्रवेश गर्न नसकेको उनीहरूको भनाइ छ ।

पराजुलीका अनुसार करिब दुई लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाममै रोकिएको छ भने नेपालभित्रै पनि १० लाख किलोभन्दा बढी चिया बिक्री हुन नसकेर उद्योगमै थन्किएको छ । नेपाली चियाको करिब ९० प्रतिशत बजार भारत रहेकाले निर्यात रोकिएपछि समग्र चिया उद्योग संकटमा परेको उद्योगीहरूको भनाइ छ ।

इलाम र झापामा मात्रै वार्षिक ठूलो परिमाणमा चिया उत्पादन हुँदै आएको छ । यी क्षेत्रमा एक लाखभन्दा बढी मजदुर र किसानका करिब ३० हजार घरपरिवार चिया उत्पादनसँग प्रत्यक्ष जोडिएका छन् । निर्यात समस्या लामो समयसम्म जारी रहे रोजगारी र आम्दानीमा गम्भीर असर पर्ने चिन्ता उद्योगीहरूले व्यक्त गरेका छन् ।

यसैबीच सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एशोसिएसनले पनि सूर्योदय नगरपालिका क्षेत्रभित्रका सबै अर्थोडक्स चिया उद्योग बन्द गर्ने घोषणा गरेको छ । पछिल्ला वर्षदेखि निर्यातमा समस्या बढ्दै आएको र भारतीय चिया बोर्डले नयाँ एसओपी लागू गरेपछि अवस्था थप जटिल बनेको एशोसिएसनले जनाएको छ ।

गत वैशाख १८ पछि नयाँ व्यवस्था लागू भएपछि करिब २१ दिनसम्म चिया निर्यात पूर्ण रूपमा रोकिएको थियो । त्यसपछि पनि निर्यात सहज हुन नसक्दा उद्योगहरू थप संकटमा परेका हुन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म नेपालले ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको ११ हजार ४ सय टन चिया निर्यात गरेको छ । गत वर्ष भने ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको १५ हजार ६ सय टन चिया निर्यात भएको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया