सेबोनमा नयाँ नेतृत्व आए पनि शेयर बजारमा सुधार देखिएन, नेप्से २७०० बिन्दुमै सीमित
- BFIS News
- 2026 Jun 22 15:29
काठमाडौं । धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा गोपाल भट्ट नियुक्त भए पनि नेपाली शेयर बजारमा अपेक्षित सुधार देखिन सकेको छैन। नयाँ नेतृत्वसँगै बजारमा सकारात्मक माहोल बन्ने अपेक्षा गरिए पनि नेप्से परिसूचक निरन्तर दबाबमै देखिएको छ।
पछिल्ला दिनमा बजार सूचक लगातार ओरालो लाग्दा लगानीकर्ताको सम्पत्ति मूल्यमा उल्लेख्य गिरावट आएको छ भने दैनिक कारोबार रकम पनि खुम्चिँदै गएको छ। बजारमा सहभागिता घट्दै जानु र खरिद चाप कमजोर हुनु पूँजी बजारमा बढ्दो अनिश्चितताको संकेतका रूपमा हेरिएको छ।
लगातारको गिरावटले साना तथा मझौला लगानीकर्ताको मनोबल कमजोर बनेको छ। जोखिमप्रति सतर्कता बढेसँगै दीर्घकालीन लगानीभन्दा तत्काल नाफा सुरक्षित गर्ने प्रवृत्ति हाबी हुँदा बजारमा थप बिक्री चाप देखिएको विश्लेषकहरूको भनाइ छ।
ठूला लगानीकर्ताले समेत नाफा सुरक्षित गर्न बिक्री बढाउँदा शेयर मूल्यमा थप दबाब परेको छ। कर प्रणाली, पुँजीगत लाभकर तथा नियामकीय नीतिमा स्पष्टता नहुँदा लगानीकर्ताले सरकारसँग नीतिगत स्थिरता र स्पष्ट दिशानिर्देशनको माग गरेका छन्।
यसबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा बोल्दै सरकार शेयर बजारको दैनिक उतारचढावभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित रहेको बताएका छन्। उनले पूँजी बजारमा देखिएको दबाब विगतका अनियमितता तथा अनुसन्धानका प्रभावसँग जोडिएको उल्लेख गर्दै सुशासन सुधारमार्फत बजारलाई सही दिशामा लैजाने प्रयास भइरहेको बताए।
सोमबार नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ बिन्दुमा कायम भएको छ। आज ३५३ कम्पनीको ८१ लाख १२ हजार ७९८ कित्ता शेयर ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।
कारोबारका क्रममा १० उपसूचक घटेका छन् भने ३ उपसूचकमा सुधार देखिएको छ। फाइनान्स समूह १.०१ प्रतिशतले बढ्दा व्यापार र माइक्रोफाइनान्स समूह पनि हरियालीमा रहेका छन्।
आज ११६ कम्पनीको शेयर मूल्य बढेको, १४३ कम्पनीको घटेको तथा १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया