राष्ट्र बैंकको नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीको सेवा विस्तारमा सहयोग पुग्ने
- BFIS News
- 2026 Aug 21 11:49
काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीका लागि ल्याएको नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको सहज पहुँचमा नरहेका उपभोक्ता तथा व्यवसायीलाई वित्तीय सेवामा जोड्न थप सहज वातावरण बन्ने हायर पर्चेज कम्पनीहरूले बताएका छन् ।
राष्ट्र बैंकले २०८३ साउन २६ गते जारी गरेको ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था–२०८३’ को एसोसिएसन अफ हायर पर्चेज कम्पनीज अफ नेपालले स्वागत गरेको हो । नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीहरूले वित्तीय क्षेत्रमा निर्वाह गर्दै आएको भूमिकालाई थप संस्थागत गर्नुका साथै कम्पनीहरूको दीर्घकालीन स्थायित्वमा समेत सहयोग पुग्ने एसोसिएशनको भनाइ छ ।
नयाँ व्यवस्थाअनुसार हायर पर्चेज कम्पनीहरूले ग्राहकबाट १ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ । यसले कम्पनीहरूको सञ्चालन तथा वित्तीय स्थायित्वमा सहयोग पुग्ने र स्प्रेडसँग सम्बन्धित समस्यालाई समेत सम्बोधन गर्ने एसोसिएशनले जनाएको छ ।
त्यस्तै, हायर पर्चेज कम्पनीको दीर्घकालीन नवीकरण अवधि १० वर्ष कायम गर्ने व्यवस्थाले संस्थागत स्थायित्व तथा लगानीको वातावरणमा सकारात्मक प्रभाव पार्ने एसोसिएशनको अपेक्षा छ ।
नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर हाल नेपालमा १० वटा हायर पर्चेज कम्पनी सञ्चालनमा छन् । ती कम्पनीहरूले मोबाइल फोन, होम अप्लायन्सेस, विद्युतीय उपकरणदेखि मोटरसाइकल, रिकन्डिसन सवारीसाधन तथा हेभी इक्विपमेन्ट खरिदका लागि कर्जा उपलब्ध गराउँदै आएका छन् ।
एसोसिएसन अफ हायर पर्चेज कम्पनीज अफ नेपालका अध्यक्ष विष्णुकुमार अग्रवालका अनुसार हायर पर्चेज कम्पनीहरूको मुख्य उद्देश्य बैंक तथा अन्य वित्तीय संस्थाबाट सहज रूपमा कर्जा प्राप्त गर्न नसक्ने उपभोक्तालाई वित्तीय पहुँचमा ल्याउनु हो ।
उनका अनुसार सुरुवाती चरणमा सवारीसाधन, मोटरसाइकल तथा हेभी इक्विपमेन्टमा लगानी गर्न बैंकबाट सहजै कर्जा पाउने अवस्था थिएन । सहकारीमार्फत कर्जा प्राप्त गर्न पनि प्रक्रिया सहज नभएकाले त्यस्तो वित्तीय आवश्यकतालाई सम्बोधन गर्न हायर पर्चेज कम्पनीको अवधारणा विकास भएको हो ।
पछिल्लो समय हायर पर्चेज कम्पनीहरूको सेवा सवारीसाधन तथा हेभी इक्विपमेन्टमा मात्र सीमित छैन । कम्पनीहरूले १० हजार रुपैयाँ मूल्य पर्ने विद्युतीय सामग्रीदेखि वासिङ मेसिनलगायतका उपभोग्य वस्तु खरिदमा समेत कर्जा उपलब्ध गराउँदै आएका छन् । बैंकिङ प्रणालीबाट कर्जा लिन सहज नभएका उपभोक्ताका लागि यस्तो सेवा वैकल्पिक वित्तीय पहुँचको माध्यम बनेको एसोसिएशनको भनाइ छ ।
हायर पर्चेज कम्पनीहरूले व्यावसायिक सवारीसाधनका चालक तथा व्यवसायी, साना उद्यमी र बैंकिङ सेवामा सहज पहुँच नभएका उपभोक्तालाई कर्जा उपलब्ध गराउँदै आएका छन् । यस्तो कर्जाले नयाँ उद्यम तथा रोजगारी सिर्जनामा समेत योगदान पुर्याएको एसोसिएशनले जनाएको छ ।
सवारीसाधन तथा विभिन्न उपकरणमा लगानीमार्फत नागरिकको उत्पादकत्व र कार्यक्षमता बढाउन तथा व्यापार–व्यवसाय विस्तारमा समेत हायर पर्चेज क्षेत्रको भूमिका महत्वपूर्ण रहेको एसोसिएशनको ठम्याइ छ ।
नयाँ व्यवस्थामार्फत हायर पर्चेज कम्पनीलाई विभिन्न स्थानमा सम्पर्क कार्यालय खोल्न दिने प्रावधानलाई पनि एसोसिएशनले सकारात्मक रूपमा लिएको छ । यसबाट बैंक तथा वित्तीय संस्थाको पहुँच तुलनात्मक रूपमा कम रहेका दुर्गम तथा ग्रामीण क्षेत्रमा समेत हायर पर्चेज सेवा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हायर पर्चेज कम्पनीहरू पछिल्लो १२ वर्षदेखि नेपाल राष्ट्र बैंकको नियमनमा रहेर सञ्चालन हुँदै आएका छन् । पुरानो निर्देशिकामा रहेका व्यावहारिक समस्या समाधानका लागि कम्पनीहरूलाई संगठित भएर आफ्ना विषय नियामकसमक्ष राख्न सुझाव दिइएपछि एसोसिएशन गठन भएको हो ।
यद्यपि, कर्जा असुली प्रक्रियासँग सम्बन्धित केही विषय अझै स्पष्ट र व्यावहारिक बन्न बाँकी रहेको एसोसिएशनले जनाएको छ । विशेषगरी गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा लिलामीबाट प्राप्त सवारीसाधन दर्ता गर्ने व्यवस्था नरहेको विषय समाधान गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, वित्तीय क्षेत्रका विज्ञहरू संलग्न ऋण असुली न्यायाधिकरणको सेवा हायर पर्चेज कम्पनीहरूले समेत उपयोग गर्न पाउने व्यवस्था गर्नुपर्ने एसोसिएशनको सुझाव छ ।
समग्रमा राष्ट्र बैंकको नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीलाई थप व्यवस्थित, दिगो र सेवामुखी रूपमा अघि बढ्न प्रोत्साहन गर्ने एसोसिएशनको निष्कर्ष छ । आगामी दिनमा वित्तीय पहुँच विस्तार, उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना तथा समग्र आर्थिक गतिविधि विस्तारमा हायर पर्चेज क्षेत्रले थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत एसोसिएशनले जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया