बीमा अभिकर्तालाई थप उत्तरदायी बनाउन प्राधिकरणको निर्देशन 'बैंकमार्फत जारी बीमालेखलाई समीक्षा गर्नुहोस्'
- BFIS News
- 2026 Aug 21 18:56
काठमाडौं। नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै बीमा सेवा थप व्यवस्थित, पारदर्शी र बीमितमैत्री बनाउन निर्देशन दिएको छ।
कोशी प्रदेश कार्यालयमा आज शुक्रवार आयोजित कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुख राजेन्द्र महर्जनलाई स्वागत तथा बधाई दिँदै आगामी आर्थिक वर्षका कार्ययोजना, बीमा व्यवसायका चुनौती तथा सेवा सुधारका विषयमा छलफल गरिएको हो। कार्यक्रममा कोशी प्रदेशमा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले बीमा व्यवसायमा देखिएका समस्या समाधानका लागि अभिकर्तालाई थप उत्तरदायी र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार बीमितसँग प्रत्यक्ष सम्पर्कमा रहेर बीमा योजना बिक्री गर्ने अभिकर्ताले नै बीमितलाई बीमालेखका बारेमा स्पष्ट जानकारी दिनुपर्ने हुन्छ।
विशेषगरी बीमा अभिकर्ताबाट हुने मिससेलिङ (गलत वा अपूर्ण जानकारी दिएर बीमा बिक्री गर्ने प्रवृत्ति) न्यूनीकरण गर्न आवश्यक व्यवस्था गर्न उनले निर्देशन दिए। बीमा पोलिसी जारी गर्नुअघि बीमितलाई बीमालेखमा समेटिएका जोखिम, कभरेज, दाबी प्रक्रिया, ल्याप्स र सरेन्डरसम्बन्धी प्रावधानलगायतका विषयमा स्पष्ट जानकारी गराउनुपर्ने उनको भनाइ थियो।
यसका लागि अभिकर्तालाई उत्तरदायी बनाउने गरी डिक्लेरेसन फर्म विकास गरी कार्यान्वयनमा ल्याउनुपर्ने उनले बताए। अभिकर्ताले बीमितलाई आवश्यक जानकारी दिएको सुनिश्चित भएपछि मात्रै बीमालेख जारी गर्ने प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए।
मिससेलिङका कारण पछिल्लो समय दाबी भुक्तानीका क्रममा समस्या देखिने गरेको उल्लेख गर्दै उनले त्यस्ता समस्या न्यूनीकरण गर्न प्रदेश प्रमुखको भूमिका प्रभावकारी हुनुपर्ने बताए। साथै, अभिकर्तालाई केवल उत्पादन तथा बीमा योजनाको जानकारी दिनेभन्दा पनि व्यावसायिक आचरण, बीमित परामर्श, जोखिम पहिचान तथा बीमालेखका सर्तबारे जानकारी दिने विषयमा केन्द्रित तालिम आवश्यक रहेको उनले बताए।
अभिकर्ता प्रतिनिधित्व तथा सम्मानका नाममा हुने औपचारिक कार्यक्रमलाई समेत व्यावसायिक क्षमता विकाससँग जोड्नुपर्ने उनको भनाइ थियो। अभिकर्ताको व्यावसायिकता अभिवृद्धि गर्न कम्पनीहरूले नियमित र प्रभावकारी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले निर्देशन दिए।
त्यस्तै, निर्जीवन बीमा व्यवसायमा बैंकमार्फत आउने बीमालेखको उपयुक्तता र विवरणलाई समेत प्राथमिकताका साथ समीक्षा गर्न उनले निर्देशन दिएका छन्। बैंकबाट हतारमा बीमालेख जारी हुने र बीमा कम्पनीले प्रिमियम प्राप्त गरेपछि मात्रै प्रक्रिया अघि बढाउने प्रवृत्तिले भविष्यमा दाबीका क्रममा समस्या सिर्जना गर्न सक्ने भएकाले प्रदेश कार्यालय तथा सम्बन्धित कर्मचारीले त्यस्ता बीमालेखको समीक्षा गर्नुपर्ने उनले बताए।
विशेषगरी सम्पत्ति तथा स्टक बीमामा बीमितले राखेको वस्तुको प्रकृति र विवरण स्पष्ट रूपमा खुलाउनुपर्नेमा उनले जोड दिए। तयारी वस्तु, अर्धतयारी वस्तु तथा कच्चा पदार्थजस्ता स्टकको विवरण बीमालेखमा स्पष्ट रूपमा उल्लेख नगरिँदा दाबीका क्रममा विवाद उत्पन्न हुन सक्ने भएकाले बीमितलाई सम्भावित जोखिम र कभरेजबारे स्पष्ट जानकारी गराउनुपर्ने उनको भनाइ थियो।
बैंकमार्फत जारी भएका बीमालेखमा आवश्यक विवरण तथा घोषणाहरू पूर्ण रूपमा समावेश भए नभएको बीमा कम्पनीले समेत जाँच गर्नुपर्ने उनले बताए। बीमालेखमा उल्लेख भएको विवरण र वास्तविक जोखिमबीच असमानता हुँदा अन्ततः बीमित नै प्रभावित हुने भएकाले यस्तो अवस्था आउन नदिन कम्पनीका प्रदेश प्रमुख तथा शाखामा कार्यरत कर्मचारीले प्रभावकारी समीक्षा गर्नुपर्नेमा उनले जोड दिए।
महर्जनले आगामी दिनमा बीमा कम्पनीका प्रदेश कार्यालय, शाखा, अभिकर्ता तथा सम्बन्धित निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउँदै बीमा क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधान गर्नुपर्ने बताए। बीमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वासयोग्य बनाउन बीमितलाई पर्याप्त सूचना दिने, अभिकर्तालाई उत्तरदायी बनाउने र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राख्न उनले निर्देशन दिएका छन्।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया