साढे सात अर्ब नाफा गरेको कुमारी बैंकले शेयरधनीलाई दियो २.१०५३ प्रतिशत नगद लाभांश
- BFIS News
- 2026 Sep 16 10:32
काठमाडौं । कुमारी बैंक लिमिटेडले तीन वर्षपछि शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले करसहित उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ।
मर्जरपछिको वित्तीय अवस्थाका कारण पछिल्ला तीन वर्ष शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको बैंकले यसपटक भने लाभांश घोषणा गरेको हो। बैंकको अपरिष्कृत वित्तीय विवरणमा वितरणयोग्य मुनाफा प्रतिशेयर करिब ३.०२ रुपैयाँ देखिएको थियो। जसमा वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँ थियो। यहिबाट बैंकले लाभांश दिने घोषणा गरेको हो।
आर्थिक वर्ष २०८२/८३ मा बैंकले करिब ७ अर्ब ३८ करोड रुपैयाँ मुनाफा देखाएको थियो। यस आधारमा बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ रहेको छ। तर, विभिन्न नियामकीय प्रोभिजनिङको प्रभावपछि खुद मुनाफा करिब ४ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको थियो। बैंकको वितरणयोग्य मुनाफामा अघिल्लो वर्षको ऋणात्मक रिटेन अर्निङले समेत प्रभाव पारेको छ। गत वर्षको रिटेन अर्निङ ३ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक रहेकाले त्यसलाई समायोजन गर्दा चालु वर्षको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँमा सीमित भएको हो।
बैंकले कर्मचारी बोनससमेत वितरण गरेको भए पनि नियामकीय समायोजन र अघिल्लो वर्षको ऋणात्मक सञ्चित आम्दानीका कारण शेयरधनीलाई वितरण गर्न सकिने रकम तुलनात्मक रूपमा न्यून देखिएको छ।
कुमारी बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ र जगेडा कोषमा १७ अर्ब ८२ करोड रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षमा बैंकको नाफा तथा वितरणयोग्य मुनाफामा सुधार भएमा आगामी वर्ष शेयरधनीलाई वितरण हुने प्रतिफलमा समेत वृद्धि हुन सक्ने आधार देखिन्छ। बैंकको शेयरको पछिल्लो कारोबार मूल्य (LTP) २२१ रुपैयाँ ६० पैसा रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया