NIMB Header 2
Prabhu Mahalaxmi

चुनौतीपूर्ण अर्थतन्त्रमा गरिमा विकास बैंकको वित्तीय प्रगति, प्रविधि र ग्राहक अनुभवमा सुधार गर्ने प्रतिवद्धता

United Ajod
  • BFIS News
  • 2026 Oct 13 14:50
चुनौतीपूर्ण अर्थतन्त्रमा गरिमा विकास बैंकको वित्तीय प्रगति, प्रविधि र ग्राहक अनुभवमा सुधार गर्ने प्रतिवद्धता
IME LIFE

काठमाडौं। चुनौतीपूर्ण आर्थिक वातावरणका बाबजुद गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा वित्तीय सूचकमा उल्लेखनीय प्रगति हासिल गरेको छ। बैंकले आगामी दिनमा प्रविधिको प्रभावकारी उपयोगमार्फत बैंकिङ सेवालाई थप सहज, छिटो र पहुँचयोग्य बनाउँदै ग्राहक अनुभवमा सुधार गर्ने प्रतिबद्धता जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले बैंकको २०औँ वार्षिक साधारणसभामा आफ्नो मन्तव्य प्रस्तुत गर्दै वित्तीय प्रगतिलाई निरन्तरता दिन डिजिटल बैंकिङ, उत्पादनशील क्षेत्रमा कर्जा विस्तार, कर्मचारीको क्षमता विकास र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिइने बताएका छन्। समीक्षा वर्षमा बैंकको निक्षेप ७.७५ प्रतिशतले बढेर ९९ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने खुद नाफा ३९.७० प्रतिशतले वृद्धि भई १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

Nepal Life
NIMB

बैंकको सोमबार सम्पन्न २०औँ वार्षिक साधारणसभामा आफ्नो मन्तव्य राख्दै उपाध्यायले आगामी दिनमा डिजिटल बैंकिङ, उत्पादनशील क्षेत्रमा कर्जा विस्तार, जोखिम व्यवस्थापन तथा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिइने बताए।

कर्जा विस्तारमा बैंकिङ क्षेत्रभन्दा राम्रो प्रगति

उपाध्यायका अनुसार समीक्षा अवधिमा समग्र बैंकिङ क्षेत्रको कर्जा वृद्धि ६.५० प्रतिशत रहेकोमा गरिमा विकास बैंकले १०.२२ प्रतिशतको वृद्धि हासिल गरेको छ। यससँगै बैंकको कुल कर्जा लगानी आर्थिक वर्षको अन्त्यसम्ममा ८४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ४५.१६ प्रतिशतले बढेर २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। निक्षेप परिचालन, कर्जा लगानी र नाफामा भएको वृद्धिले बैंकको व्यावसायिक गतिविधि विस्तार भएको देखाउने उपाध्यायले बताए।

उनका अनुसार पर्याप्त लगानीयोग्य रकम उपलब्ध हुनु र कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्यून बिन्दुमा पुग्नुका बाबजुद पछिल्ला वर्षमा मुलुकको आर्थिक गतिविधिमा देखिएको संकुचन तथा व्यावसायिक वातावरणमा विद्यमान चुनौतीका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार अपेक्षाअनुसार हुन सकेको छैन।

अन्तर्राष्ट्रिय स्तरमा देखिएको रूस–युक्रेन युद्ध, अमेरिका–इरानबीच बढ्दो भूराजनीतिक तनाव तथा अन्य क्षेत्रीय द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य, आपूर्ति शृङ्खला, अन्तर्राष्ट्रिय व्यापार र लगानीमा अनिश्चितता बढाएको उनको भनाइ छ। यस्ता घटनाक्रमको अप्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा समेत परेको उल्लेख गर्दै उनले आर्थिक गतिविधिमा देखिन थालेका सकारात्मक संकेतले आगामी दिनमा कर्जाको माग र प्रवाहमा सुधार आउने अपेक्षा व्यक्त गरे।

सातै प्रदेशमा बैंकिङ सेवा, १० लाखभन्दा बढी निक्षेपकर्ता

गरिमा विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो सेवा विस्तार गरिसकेको छ। बैंकले १० वटा क्षेत्रीय कार्यालय, १२६ वटा शाखा कार्यालय तथा ५१ वटा एटीएममार्फत ग्राहकलाई आधुनिक र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकमा १० लाखभन्दा बढी निक्षेपकर्ता र २६ हजारभन्दा बढी ऋणी आबद्ध छन्। त्यस्तै, पाँच लाख ६० हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता, दुई लाख २० हजारभन्दा बढी डेबिट कार्ड प्रयोगकर्ता तथा एक लाखभन्दा बढी क्यूआर मर्चेन्टले बैंकका विभिन्न सेवा उपयोग गरिरहेका छन्।

ग्राहकको बदलिँदो आवश्यकता र प्रविधिको विकाससँगै बैंकिङ सेवाको स्वरूप पनि परिवर्तन भइरहेको उल्लेख गर्दै उपाध्यायले डिजिटल तथा स्वचालित प्रणालीको प्रयोगबाट सेवा छिटो, सरल र सहज बनाउने दिशामा बैंक निरन्तर अघि बढिरहेको बताए।

उनका अनुसार बैंकले प्रविधिलाई सञ्चालन खर्च घटाउने माध्यमका रूपमा मात्र नभई ग्राहकको अनुभव सुधार्ने, निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने र संस्थागत क्षमता अभिवृद्धि गर्ने रणनीतिक साधनका रूपमा उपयोग गर्ने लक्ष्य लिएको छ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

गरिमा विकास बैंकले बैंकिङ सेवा, व्यवस्थापन, डिजिटल कारोबार तथा वित्तीय साक्षरताका क्षेत्रमा विभिन्न पुरस्कार प्राप्त गरेको छ।

भारतीय चेम्बर अफ कमर्सले २९ अगस्ट २०२५ मा भारतको नयाँदिल्लीमा आयोजना गरेको तेस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड कार्यक्रममा बैंकले ‘द बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको थियो। साथै, ‘द बेस्ट एआई–एमएल बैंक अवार्ड’ अन्तर्गत एमएसएमई एक्सेलेरेसन विधामा रनरअप भएको थियो।

त्यसैगरी, न्यू बिजनेस एज लिमिटेडले ८ मे २०२६ मा काठमाडौंमा आयोजना गरेको वार्षिक अवार्ड समारोहमा बैंकले ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक, २०२६’ को सम्मान प्राप्त गरेको थियो। कर्पोरेट बिजनेस म्यागजिनले १८ जुन २०२६ मा आयोजना गरेको अवार्ड समारोहमा ‘डेभलपमेन्ट बैंक अफ द इयर, २०२६’ बाट सम्मानित भएको बैंकले वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता तथा प्रस्तुतीकरणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड, २०२५’ अन्तर्गत सिल्भर अवार्डसमेत प्राप्त गरेको थियो।

डिजिटल बैंकिङतर्फ आर्थिक वर्ष २०८१/८२ को डिजिटल कारोबार र नेपालपे क्यूआर कारोबारका आधारमा नेपाल क्लियरिङ हाउस लिमिटेडबाट क्रमशः ‘एक्सिलेन्स इन डिजिटल ट्रान्ज्याक्सन्स अवार्ड’ र ‘एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्ज्याक्सन्स अवार्ड’ प्राप्त गरेको बैंकले आर्थिक वर्ष २०८२/८३ मा वित्तीय साक्षरतामा उत्कृष्ट योगदान गरेबापत ‘फाइनान्सियल लिटरेसी कन्फरेन्स, २०२६’ मा सर्वोत्कृष्ट वित्तीय साक्षरता अवार्डसमेत पाएको छ।

यी सम्मानले वित्तीय सेवा थप परिष्कृत गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न आफूहरूलाई थप प्रेरणा मिलेको उपाध्यायले बताए।

उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहलाई प्राथमिकता

बैंकले साना तथा मझौला उद्यम, ऊर्जा, कृषि र पूर्वाधार निर्माणलगायत अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्‍याउने क्षेत्रमा कर्जा प्रवाहलाई प्राथमिकता दिँदै आएको छ।

देशको आर्थिक गतिविधि चलायमान बनाउन उत्पादनशील क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उपाध्यायले अर्थतन्त्रका विभिन्न क्षेत्रमा सन्तुलित कर्जा प्रवाह गर्ने नीतिलाई निरन्तरता दिइने बताए। उनका अनुसार बैंकको प्राथमिकता कर्जा विस्तारमा मात्र सीमित नभई उत्पादनमूलक गतिविधिलाई प्रोत्साहन गर्ने र आर्थिक विकासमा योगदान पुर्‍याउनेतर्फ केन्द्रित रहनेछ।

त्यसैगरी, बैंकले कर्मचारीको ज्ञान, सीप, नेतृत्व क्षमता तथा व्यावसायिक दक्षता अभिवृद्धिलाई पनि प्राथमिकतामा राखेको छ। कर्मचारीलाई संस्थाको महत्त्वपूर्ण सम्पत्तिका रूपमा लिँदै आन्तरिक तथा बाह्य तालिम, सेमिनार र गोष्ठीमा सहभागिताका अवसर प्रदान गर्नुका साथै वृत्ति विकास र सशक्तीकरणमा लगानी गर्दै आएको उपाध्यायले बताए।

सक्षम, दक्ष र उत्साही जनशक्तिबाट मात्रै संस्थाको दिगो विकास सम्भव हुने विश्वास व्यक्त गर्दै उनले कर्मचारीको क्षमता अभिवृद्धिलाई बैंकको भविष्यको बलियो आधारका रूपमा लिइएको उल्लेख गरे।

बाढीपीडितलाई एक करोड रुपैयाँभन्दा बढी सहयोग

गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि बैंकले कर्मचारीको एक दिनको तलब तथा भत्तासमेत गरी ५१ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको उपाध्यायले जानकारी दिए।

त्यसैगरी, बाढी प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापनाका लागि स्थानीय निकायसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट थप ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने निर्णय गरिएको उनले बताए।

बालुवाटारस्थित आफ्नै भवनबाट केन्द्रीय कार्यालय सञ्चालन

गरिमा विकास बैंकले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा रहेको आफ्नै भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। अघिल्लो आर्थिक वर्षमा खरिद गरिएको उक्त भवनमा आवश्यक आन्तरिक संरचना निर्माण तथा सजावटको काम सम्पन्न भएपछि २०८३ भदौ ३ गतेदेखि नयाँ परिसरबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएको उपाध्यायले बताए।

आफ्नै भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको संस्थागत पूर्वाधार थप व्यवस्थित भएको छ।

गुणस्तरीय सेवा र दिगो विकासमा प्रतिबद्धता

उपाध्यायले बैंकको आगामी यात्रा ग्राहकको बदलिँदो आवश्यकता सम्बोधन गर्ने, प्रविधिको प्रभावकारी उपयोग गर्ने, उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्ने र संस्थागत क्षमता अभिवृद्धि गर्ने दिशामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले बैंकको निरन्तर प्रगतिमा योगदान पुर्‍याउने शेयरधनी, नियमनकारी निकाय, सञ्चार क्षेत्र, सेवाग्राही, कर्मचारी तथा अन्य शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबै पक्षको सहयोग र विश्वास कायम रहने अपेक्षा व्यक्त गरे।

गरिमा विकास बैंकलाई उत्कृष्ट वित्तीय संस्थाका रूपमा स्थापित गर्न निरन्तर प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने र संस्थाको दिगो विकासलाई प्राथमिकतामा राख्ने बताए।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया