भोटेकोशी बाढीको बीमा दाबी २० अर्ब नाघ्यो, फर्छ्यौट १०.७९ प्रतिशत मात्रै
- BFIS News
- 2026 Nov 27 09:08
काठमाडौं, मंसिर ११ गते । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण हिमनदी बाढीबाट भएको क्षतिको बीमा दाबी रकम २० अर्ब ३३ करोड रुपैयाँ नाघेको छ । नेपाल बीमक संघले मंसिर ३ गतेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै कुल २० अर्ब ३३ करोड १५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको जनाएको हो ।
संघका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा कुल २ हजार ५५६ वटा दाबी दर्ता भएका छन् । तीमध्ये १०.७९ प्रतिशत अर्थात् २७६ वटा दाबी मात्रै फर्छ्यौट भएका छन् । २ हजार २४१ वटा दाबी फर्छ्यौट हुन बाँकी छन् । हालसम्म बीमितलाई अग्रिम तथा अन्तिम भुक्तानीसमेत गरी कुल ८५ करोड ९८ लाख रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, भुक्तानी हुन बाँकी दाबी रकम १२ अर्ब २० करोड ८३ लाख रुपैयाँ रहेको छ ।
सरकारले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित बीमितको दाबी छिटोछरितो फर्छ्यौट गर्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिए पनि प्रक्रिया अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । बीमितका तर्फबाट पर्याप्त कागजात तथा प्रमाण प्राप्त नभएको र स्थलगत निरीक्षण प्रतिवेदन आउन बाँकी रहेकाले दाबी फर्छ्यौटमा ढिलाइ भएको बीमकहरूको भनाइ छ ।
विशेषगरी जलविद्युत् आयोजनाका संरचना जटिल हुनु र क्षतिको मूल्याङ्कनमा विदेशी पुनर्बीमा कम्पनीका मूल्याङ्कनकर्तासमेत सहभागी हुनुपर्ने भएकाले क्षति निर्धारण तथा दाबी भुक्तानी प्रक्रियामा समय लागेको छ ।
बीमक संघको विवरणअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमातर्फ परेको छ । यस शीर्षकमा ५५२ वटा दाबीबाट करिब ९ अर्ब ४० करोड रुपैयाँ बराबरको दाबी परेको छ । त्यसपछि इन्जिनियरिङ बीमातर्फ करिब ३ अर्ब ८३ करोड, मोटर बीमातर्फ ३ अर्ब १० करोड र सामुद्रिक बीमातर्फ २ अर्ब ४० करोड रुपैयाँ बराबरको दाबी परेको छ ।
कम्पनीगत रूपमा सबैभन्दा बढी दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । कम्पनीमा २२४ वटा दाबीबाट ६ अर्ब ७२ करोड ३४ लाख ८६ हजार ७०६ रुपैयाँ बराबरको दाबी परेको छ । तर, कम्पनीले हालसम्म कुनै पनि दाबी फर्छ्यौट गरेको छैन ।
दोस्रो स्थानमा रहेको सानिमा जीआईसी इन्स्योरेन्समा २४५ वटा दाबीबाट ३ अर्ब ६१ करोड २२ लाख ३ हजार ५० रुपैयाँ ७९ पैसा बराबरको दाबी परेको छ । कम्पनीले हालसम्म ५३ वटा दाबी फर्छ्यौट गरेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्समा ४७१ वटा दाबीबाट २ अर्ब ५३ करोड ५ लाख १२ हजार ९९२ रुपैयाँ ४३ पैसा बराबरको दाबी दर्ता भएको छ । कम्पनीले १२१ वटा दाबी फर्छ्यौट गरी ३७ करोड ८३ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ ।
त्यसैगरी, सलिको इन्स्योरेन्समा २३३ वटा दाबीबाट करिब १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा २५२ वटा दाबीबाट करिब १ अर्ब २६ करोड ३२ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २६८ वटा दाबीबाट करिब १ अर्ब २६ करोड ३२ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
अन्य कम्पनीमध्ये नेपाल इन्स्योरेन्समा करिब ५७ करोड ६० लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ९४ करोड ७५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ४९ करोड ५५ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा ४१ करोड ७८ लाख रुपैयाँ, द ओरिएन्टल इन्स्योरेन्समा २४ करोड ३१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा २ करोड ७२ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा ५३ लाख ३५ हजार रुपैयाँ बराबरको दाबी दर्ता भएको छ ।
यता, युनाइटेड अजोड इन्स्योरेन्समा बीमितका तर्फबाट दर्ता भएका ३७ वटा दाबी फिर्ता भएका छन् । फिर्ता भएका दाबीको रकम घटाउँदा कम्पनीमा परेको कुल दाबी रकम ८३ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीमा ७२ वटा दाबी भुक्तानी हुन बाँकी रहेको विवरणमा उल्लेख छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया