लगातार दोस्रो वर्ष शिखर इन्स्योरेन्सलाई साफाको ‘सर्टिफिकेट अफ मेरिट’
- BFIS News
- 2026 Nov 28 19:42
काठमाडौं, मंसिर १२ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दक्षिण एसियाली लेखापाल महासंघ (साफा) को उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कारअन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ। कम्पनीले सन् २०२५ को वार्षिक प्रतिवेदन, एकीकृत प्रतिवेदन तथा संस्थागत सुशासनसम्बन्धी खुलासाका आधारमा जनरल इन्स्योरेन्स विधामा उक्त सम्मान प्राप्त गरेको हो।
बंगलादेशको ढाकामा नोभेम्बर २८ मा आयोजित समारोहमा कम्पनीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। यस वर्ष उक्त सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स एक मात्र निर्जीवन बीमा कम्पनी बनेको छ।
शिखर इन्स्योरेन्सले लगातार दोस्रो वर्ष साफाबाट यो सम्मान प्राप्त गरेको हो। गत वर्ष पनि कम्पनीले उक्त पुरस्कार जित्दै साफाबाट यस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको पहिलो बीमा कम्पनी बनेको थियो।
साफाको पारदर्शिता, जवाफदेहिता तथा सुशासन सुधारसम्बन्धी समितिले आयोजना गर्ने यी पुरस्कार दक्षिण एसियामा संस्थागत प्रतिवेदन तथा वित्तीय पारदर्शिताका क्षेत्रमा प्रतिष्ठित मानिन्छन्। पुरस्कारका लागि विभिन्न देशका कम्पनीका वार्षिक प्रतिवेदनलाई वित्तीय प्रतिवेदनको गुणस्तर, सूचनाको विस्तृत खुलासा, संस्थागत सुशासन तथा सेयरधनी र सर्वसाधारणसमक्ष कम्पनीका गतिविधि स्पष्ट रूपमा प्रस्तुत गरिएको आधारमा मूल्याङ्कन गरिन्छ।
लगातार दोस्रो वर्ष प्राप्त सम्मानले शिखर इन्स्योरेन्सको वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनप्रतिको निरन्तर प्रतिबद्धता झल्काएको कम्पनीले जनाएको छ।
२२ वर्षको व्यावसायिक यात्रामा थप उपलब्धि
२२ वर्षदेखि बीमा सेवा प्रदान गर्दै आएको शिखर इन्स्योरेन्सले वित्तीय क्षमता, सूचना सुरक्षादेखि दाबी भुक्तानीसम्म विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेको जनाएको छ।
कम्पनीलाई इक्रा नेपालले ‘एए माइनस’ (AA-) रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय सबलता तथा बीमितप्रतिको दायित्व पूरा गर्ने क्षमतालाई प्रतिबिम्बित गर्छ। त्यस्तै, कम्पनीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि आईएसओ २७००१ प्रमाणीकरण प्राप्त गरेको छ।
निर्जीवन बीमा बजारमा सबैभन्दा बढी बजार हिस्सा रहेको दाबी गर्ने कम्पनीले स्थापनादेखि हालसम्म २ लाखभन्दा बढी बीमा दाबीबापत ३० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको जनाएको छ।
त्यसैगरी, प्राकृतिक विपत्तिलगायत ठूला जोखिमबाट उत्पन्न हुन सक्ने दाबी भुक्तानीको दायित्व व्यवस्थापन गर्न कम्पनीले निर्जीवन बीमा क्षेत्रमै सबैभन्दा उच्च विपद् पुनर्बीमा सुरक्षा व्यवस्था गरेको जनाएको छ। उक्त पुनर्बीमा सुरक्षा पूर्ण रूपमा ‘ए’ रेटिङ प्राप्त अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीमार्फत गरिएको कम्पनीको भनाइ छ।
लगातार दोस्रो वर्ष प्राप्त साफाको सम्मानले वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता र संस्थागत सुशासनका क्षेत्रमा कम्पनीले कायम राखेको निरन्तरताको अन्तर्राष्ट्रिय स्तरमा पुनः पहिचान स्थापित गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया