Nepal Life

इरान-इजरायल बढ्दो तनावबीच विश्वको नजर 'तेल'मा, मूल्यमा हुनसक्ने भारी वृद्धिको 'डर'

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 08:18
इरान-इजरायल बढ्दो तनावबीच विश्वको नजर 'तेल'मा, मूल्यमा हुनसक्ने भारी वृद्धिको 'डर'
Shikhar detail

काठमाडौं। इरान र इजरायलबीचको पछिल्लो बढ्दो तनावले कच्चा तेलको बजारमा सबैभन्दा ठूलो असर पार्ने सम्भावना छ। जसका कारण विश्वभर तेलको मूल्यमा भारी वृद्धि हुनसक्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको बयानपछि यो आशंका थप बढेको छ ।

जो बाइडेनले इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाउन सक्ने र यस सम्भावित आक्रमणको बारेमा अमेरिकामा छलफल भएको बताएका छन् । बाइडेनलाई यसै सन्दर्भमा सोधिएको थियो, 'अमेरिकाले इरानको तेल अड्डामा इजरायली आक्रमणलाई समर्थन गर्छ त?' जवाफमा उनले भने, 'हामी यसबारे छलफल गरिरहेका छौं।'

NIMB

इरानले गत साताको मंगलबार राति इजरायलतर्फ सयौं मिसाइल प्रहार गरेको थियो। त्यसयता दुई देशबीच तनाव निकै बढेको छ। इजरायलको विदेश मन्त्रालयका अनुसार इरानले इजरायलमा १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको छ । पाँच महिनाअघि अप्रिलमा इरानले इजरायलमाथि करिब ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलहरू प्रहार गरेको थियो।

इरानको पछिल्लो मिसाइल हमलापछि इजरायली सुरक्षा परिषद्को बैठक बंकरमा भएको थियो, जसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका थिए, "इरानले आज ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ।"

गत जुलाईमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाको तेहरानमा हत्या भएको थियो। इरानले यसका लागि इजरायललाई दोष दिन्छ। तर, त्यो हत्यालगत्तै भने इरानले इजरायलविरुद्ध कुनै आक्रामक कदम चालेको थिएन।

त्यसपछि यसै वर्ष सेप्टेम्बर २७ मा हिजबुल्लाह नेता हसन नसरल्लाह लेबनानमा इजरायली आक्रमणमा मारिए। यी दुवै नेतालाई इरानका समर्थक मानिन्थ्यो। उनको हत्यापछि इरानलाई पनि जवाफ दिन आफ्नै देशभित्रबाट दबाब परेको मानिन्छ। इरानले यी दुई हत्याको बदला लिन इजरायलमा मिसाइल प्रहार गरेको बताएको छ।

बुधबार इजरायली सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार इजरायलले केही दिनभित्रै इरानका केही महत्वपूर्ण रणनीतिक लक्ष्यलाई निशाना बनाउनेछ । यी आक्रमणहरूमा इरानका महत्वपूर्ण तेल साइटहरूमा पनि आक्रमण हुनसक्ने अनुमान गरिएको छ।

मध्यपूर्वको वर्तमान तनावलाई हेर्दा इरानको तेलको भण्डारमा आक्रमण भयो भने यसको प्रभाव ठूलो हुनेछ। यसले तेल आपूर्तिमा मात्रै असर गर्दैन, रणनीतिक हिसाबले महत्वपूर्ण धेरै सडक बन्द हुनसक्छन्। जसका कारण लागत र मुद्रास्फीति बढ्ने भएकाले अन्य वस्तु ढुवानीका लागि लामो दुरी तय गर्नुपर्नेछ।

विश्व तेल बजारमा इरानको महत्व

इरान विश्वको सातौं ठूलो तेल उत्पादक देश हो। यसले आफ्नो तेल उत्पादनको आधा निर्यात गर्छ। यसको प्रमुख बजारमा चीन समावेश छ। तर, चीनमा तेलको कम माग र साउदी अरेबियाबाट पर्याप्त मात्रामा तेलको आपूर्तिले यस वर्ष तेलको भाउ बढ्नबाट रोकेर राखेको छ।

इरानसँग विश्वको चौथो ठूलो तेल भण्डार छ भने विश्वको दोस्रो ठूलो ग्यास भण्डार पनि छ। इरान पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक) मा तेस्रो ठूलो उत्पादक हो र प्रति दिन लगभग ३‍० लाख ब्यारेल तेल उत्पादन गर्दछ।

इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएर ध्वस्त पारेमा तेल आपूर्तिमा असर पर्ने र विश्वभर तेलको मूल्यमा ठूलो वृद्धि हुने डर छ ।

तेलको भाउ बढ्ने सम्भावना कति?

इरानले इजरायलमा आक्रमण गरेपछि मध्यपूर्वमा द्वन्द्व बढ्ने डर बढेको छ, जसको प्रत्यक्ष असर तेलको मूल्यमा देखिएको छ । हसन नसरल्लाहको हत्यापछि इरानको क्षेप्यास्त्र आक्रमणको डर थियो, त्यही समयमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब तीन प्रतिशतले बढेको तथ्यबाट पनि यो प्रभाव बुझ्न सकिन्छ।

यस्तो अवस्थामा इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएमा यसको अन्तर्राष्ट्रिय तेल बजारमा व्यापक असर पर्न सक्छ।

'ब्रेन्ट क्रूड' तेलको अन्तर्राष्ट्रिय मूल्यको बेन्चमार्क हो। यस अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनको इरानी तेल भण्डारको बारेमा बयानपछि कच्चा तेलको मूल्य पाँच प्रतिशतले बढेको छ।

‘ब्रेन्ट क्रुड’का अनुसार गत सोमबार इजरायलमा इरानको मिसाइल हमलापछि कच्चा तेलको मूल्य अहिलेसम्म १० प्रतिशतले बढेर प्रति ब्यारेल ७७ डलरको हाराहारीमा पुगेको थियो। यद्यपि यो वर्षको अधिकतम मूल्यभन्दा अझै कम नै छ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो। त्यसताका पनि कच्चा तेलको मूल्यमा वृद्धि भएको थियो। अमेरिकालगायत पश्चिमा राष्ट्रले रुसमाथि विभिन्न किसिमका नाकाबन्दी पनि लगाए। त्यसलाई सम्बोधन गर्न रुसले विश्वका धेरै देशलाई अन्तर्राष्ट्रिय बजारभन्दा सस्तो मूल्यमा कच्चा तेल बिक्री गर्ने प्रस्ताव पनि गरेको थियो।

(एजेन्सीको सहयोगमा)

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया