अन्तत प्रधानमन्त्री बालेनले नै जोगाए गभर्नरलाई, अर्थमन्त्रीको दबाब असफल
- BFIS News
- 2026 May 06 13:35
काठमाडौं। सरकारले “सार्वजनिक पदमा नियुक्त पदाधिकारीलाई पदमुक्त गर्ने सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” मार्फत ११० वटा ऐनमा संशोधन गरेपछि करिब १६ सय पदाधिकारी स्वतः पदमुक्त भएका छन्। तर नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेल भने यस निर्णयबाट जोगिन सफल भएका छन्।
उक्त घटनाक्रममा प्रधानमन्त्री बालेन शाह को भूमिकालाई निर्णायक मानिएको छ। स्रोतका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले गभर्नर पौडेललाई अनौपचारिक रूपमा पदबाट हट्न दबाब दिएका थिए। तर प्रधानमन्त्री शाहले पौडेललाई कार्यकक्षमै बोलाएर निर्धक्कसँग आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए।
हालको सरकार सञ्चालन शैलीलाई लिएर पनि विभिन्न टिप्पणीहरू भइरहेका छन्। मन्त्रिपरिषद् बैठकहरूमा अर्थमन्त्री वाग्ले बाहेक अन्य मन्त्रीहरूले खुलेर धारणा राख्न नसकेको बताइन्छ। प्रारम्भिक चरणमा केही समय आफ्नो कुरा राख्ने गरेका वाग्ले पनि पछिल्ला बैठकहरूमा मौन बस्न थालेको स्रोतको दाबी छ। यस अवस्थामा अन्य मन्त्रीहरू केवल कोरम पूरा गर्ने हस्ताक्षरकर्ताका रूपमा सीमित भएको टिप्पणी भइरहेको छ।
प्रधानमन्त्री शाहले आवश्यक निर्देशन, छलफल वा निर्णयका लागि मन्त्रीहरूलाई सिधै कार्यकक्षमा बोलाउने गरेको बताइन्छ। मन्त्रिपरिषद् बैठकमा के विषयमा निर्णय हुँदैछ भन्ने आधारभूत जानकारी समेत मन्त्रीहरूलाई नहुने अवस्था रहेको स्रोतको भनाइ छ। मन्त्रीहरू जुनसुकै बेला बैठक बस्न सक्ने सम्भावनाका कारण सधैं प्रतीक्षामा रहने गरेका छन्।
यसैबीच, सार्वजनिक कार्यक्रममा अर्थमन्त्री वाग्ले कम देखिन थालेका छन्। उनले धेरै निमन्त्रणाहरू अस्वीकार गर्ने गरेको र शुभकामना सन्देशसमेत आफैंले पूर्ण रूपमा अध्ययन गरेर मात्र दिने गरेको जनाइएको छ। विगतमा प्रयोग हुने तयार ढाँचाका सन्देशहरूमा समेत रोक लगाइएको छ।
यस्तो राजनीतिक परिवेशका बीच प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई जोगाउने निर्णय किन र कसरी गरे भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। यद्यपि अर्थमन्त्रीसँगको असहमतिका बाबजुद सहकार्य गर्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ। अब अर्थमन्त्री वाग्ले स्वयं गभर्नर पौडेलसँग पुराना सम्बन्ध पुनः सुदृढ गर्ने दिशामा जानुपर्ने अवस्था आएको विश्लेषकहरूको भनाइ छ।
गभर्नर प्रा. डा. विश्व पौडेलको पृष्ठभूमि
-
नेपाल राष्ट्र बैंकका १८औँ गभर्नर
-
नियुक्ति: २०८२ जेठ ६
-
पिएचडी: युनिभर्सिटी अफ क्यालिफोर्निया (२०१०)
-
उपाध्यक्ष, राष्ट्रिय योजना आयोग (२०७८ साउन १२)
-
आर्थिक सल्लाहकार, अर्थ मन्त्रालय (२०८० बैशाख ७)
विज्ञता क्षेत्र:
प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र र अर्थशास्त्रको इतिहास
अनुभव र योगदान:
-
काठमाडौं विश्वविद्यालयका प्राध्यापक
-
अन्तर्राष्ट्रिय श्रम संगठनका आर्थिक सल्लाहकार
-
राष्ट्रिय योजना आयोगका विज्ञ सल्लाहकार
-
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालका अर्थशास्त्री
-
विश्व बैंकका परामर्शदाता
-
सानिमा बैंकका पूर्व सञ्चालक
उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट हरि ढकालसँग पराजित भएका थिए। देउवा खेमाका पौडेलले चितवनबाट टिकट पाएर पराजित भए सँगै गभर्नर नियुक्त हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीहरुले चर्को विरोध गरेका थिए। अचम्मको के छ भने देउवा खेमाकै हुन नसकेका गभर्नर डा. गुणाकर भट्टलाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनायो। यसरी देउवा पक्षका पदाधिकारीहरु रास्वपाको रोजाइमा परिरहदा कि त उनिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनाव अगाडी साठगाठ गरेको हुनु पर्छ होइन भने देउवाले चलाखी गरेको हुन सक्छ। देउवा पुर्व सूचना अनुसार नै अहिले विदेशमा छन्। सकारात्मक रुपमा सोच्ने हो भने बालेनले राम्रा व्यक्तिलाई पार्टी सँगको सम्लग्नता भन्दा माथि उठेर निर्णय गरिरहेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया